धनगढी- सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार दिउँसो प्रदेश प्रमुख देवराज जोशीलेमन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई शपथ दिलाएका हुन्। शनिबारै राज्यमन्त्री गीतादेवी मालले पनि शपथ लिएकी छन्। उनलाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराए।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्। कांग्रेसका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेका झपट साउदले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीकै रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए। माओवादीकै गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनिन्।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले भने मन्त्री बन्ने व्यक्तिको नाम रोकेर राखेको छ। उन्मुक्तिले दुई मन्त्रालय माग गरेको तर मुख्यमन्त्रीले एक जनाको मात्र नाम माग गरेपछि तत्कालका लागि पार्टीबाट कसैलाई पनि मन्त्री बनाउन नाम सिफारिस नगरिएको उन्मुक्तिले जानकारी दिएको छ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले सरकारमा सहभागी हुने विषयमा आफूहरू छलफलमै रहेको बताए। उन्मुक्तिका लागि भनेर मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन्।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्।
नयाँ सरकार गठन भएको सय दिन बित्दा पनि शाहले सरकारलाई पूर्णता दिन सकेका छैनन्।


