बर्दिबास – गौशाला नगरपालिका वडा नम्बर- ८ का अभिषेक यादवकी १९ वर्षीया श्रीमती खुश्बको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। खुश्बुको शव गौशाला नगरपालिका-५ स्थित विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको थियो।
शनिबार राति घरबाट निस्केकी खुस्बु आइतबार बिहान मृत फेला परेकी हुन्।
विवाहको २ महिनमै हत्या
विवाह भएको दुई महिनामै २१ वर्षीय खुश्बुको हत्या भएको हो।
खुश्बुको हत्या पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
‘मृतक युवतीका पति भने हाल फरार छन्,’ जिप्रका महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले भने, ‘उनको खोजी गरिरहेका छौँ। हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको आशंका छ।’ तर अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको उनले बताए।
विवाह भएदेखि नै खुश्बुमाथि उनका पति अभिषेकले ज्यादती गर्ने र यातना दिने गरेका स्थानीय बताउने गर्छन्। उनीहरूबीच दाइजोको निहुँमा झगडा हुने गरेको र अहिले हत्यासम्म पुग्नुको कारण पनि त्यही भएको हुन सक्ने प्रहरीको भनाइ छ। यद्यपि अनुसन्धान हुँदै गरेको र चाँडै आफूहरू घटनाको वास्तविकतासम्म पुग्ने जैसवालले बताए।
खुश्बुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका-१ पर्सादेवाड हो। मंसिर ७ गते गौशाला-८ बेलगाछीका चन्देश्वर यादवका छोरा अभिषेकसँग उनको मागी विवाह भएको थियो।
खुश्बुको शव आइतबारै जलेश्वर अस्पतालमा पोस्टमार्टमपछि माइती पक्षको जिम्मा लगाइएको छ। जैसवालका अनुसार अहिलेसम्म किटानी जाहेरी भने परेको छैन।


