काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको छेको पारेर केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ।
काठमाडौँको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको हो। उद्घाटन खेलअघि आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि एन्फा कम्प्लेक्स पुगेका छन्।
एन्फा कम्प्लेक्समा ओलीलाई पत्नी राधिका शाक्यले केक खुवाइन्। प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकको दायाँबायाँ फुटबल बनाइएको थियो। केक काट्दै गर्दा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो। ड्रोनले फुटबल पनि उठाएको थियो।
फागुन ११ गते (आज) प्रधानमन्त्री ओलीको आज ७४औँ जन्मदिन हो। उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रममा शुभकामना साटासाट गर्ने बताएका थिए।












