काठमाडौँ- च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको खेलमा इन्डियाले पाकिस्तानमाथि जित निकालेको छ।
भारतका विराट कोहलीले शतक योगदान गरेपछि पाकिस्तानमाथि इन्डियाले ६ विकेटको जित निकालेको हो। २४१ रनको लक्ष्य पछ्याएको इन्डियाले ४२.३ ओभरमा लक्ष्य चुमेको हो।
भारतका कोहलीले १११ बलमा ७ चौकासहितको मद्दतमा सय रन जोडेका हुन्। श्रेयस अय्यरले ५६ रन बनाउँदा शुभमन गिलले ४६ रन जोडे। क्याप्टेन रोहित शर्मा २० रन बनाएर आउट भएका थिए।
बलिङतर्फ पाकिस्तानका सहीन साह अफ्रिदीले २ विकेट लिए भने अबरर अहमद र खुशदिल साहले समान एकएक विकेट लिएका थिए।
युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रन बनाएको थियो।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे। उनले ७६ बलमा ५ चौका प्रहार गरेका थिए। सकिलले तेस्रो विकेटका लागि कप्तान मोहम्मद रिजवानसँग १ सय ४ रनको साझेदारी गरे। कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन जोडे।
खुसदिल साह ३९ बलमा ३८ तथा ओपनर बाबर अजाम २३ रनमा आउट भए। अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए । शाहिन शाह अफ्रिदी रनको खाता नखोल्दै आउट हुँदा हरिस रउफले ८ रन जोडे।
भारतका लागि कुलदीप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए।
पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तान अर्को हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।
पहिलो खेलमा बंगलादेशलाई हराएको भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल नजिक पुगेको छ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडीआई विश्वकपका शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन्।
सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ। पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्यान्ड समूह ‘ए’ मा छन्।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ।
पाकिस्तानमा भइरहेको यो सिजनको प्रतियोगितामा भारतले पाकिस्तान जान अस्वीकार गरेपछि भारतसँगका सबै खेल युएईमा भइरहेका छन्।


