बेलायत- भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनित भएका छन्।
गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका काउन्सिलरमध्येबाट मेयर पदमा मनोनित भएका हुन्।
लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनित भएका हुन्।
उनी यसअघि उपमेयर चुनिएका थिए। आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयरको पदभार ग्रहण गर्नेछन्।
‘बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाका तर्फबाट पहिलो मेयरमा मनोनीत हुनु गर्वको कुरा हो,’ सारूले भने, ‘औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ।खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुर्याउने अवसर मिलेको छ।’
काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन्। सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन्।
मेयर हुने पक्का भएपछि उनले भने, ‘नेपाली भएर पनि बेलायतको मेयरमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु।’
झण्डै तीनदशक ब्रिटिस आर्मीमा सेवा गरेका मगर हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन्।
सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त हुन्।
बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहेका सारू पाल्पामा जन्मिएका हुन्।



