काठमाडौँ- केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्न थालेका छन्।
दशरथ रंगशालामा साँझ ६ बजेबाट फाइनल खेल सुरु भएको हो। खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै इटलीका पूर्वकप्तान जीजी बुफोनलगायत रंगशाला पुगेका छन्।
सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन्। फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन्। फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ।
प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए। फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।












