काठमाडौँ- एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो। यसअघि उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए।
हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिमबाट बिदा हुँदैछन्। घिमिरेले चैतबाट सीईओको कार्यभार सम्हाल्नेछन्।
सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका घिमिरे एनएमबि बैंकमा सन् २००९ देखि निरन्तर आबद्ध छन्।
२०७९ असोजदेखि उनी एनएमबि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए। घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन्।
घिमिरे सीईओ बनेसँगै सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनाएको छ। उपाध्याय विगत एक दशकदेखि एनएमिब बैंकमा कार्यरत छन्।
उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा भित्रिएका थिए। सन् १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक)बाट बैंकिङ करिअर थालेका उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक कतार तथा कतारकै मश्रेक बैंकमा काम गरेको अनुभव समेत छ। उनी त्रिभुवन विश्वाविद्यालयका एमबीए ग्राजुएट हुन्।


