२०८३ कार्तिक १२ गते बुधबार

समावेशी र समानुपातिक प्रतिनिधित्वमा आँच पुग्ने गरी संविधान संशोधन हुँदैन : पदम गिरी [अन्तर्वार्ता]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २४
padam giri

 प्रतिनिधि सभामा नेकपा(एमाले)मा सचेतक पदम गिरी वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देश र जनताको हित हुने प्रतिक्रिया दिँदै आएका छन्। समृद्धिको यात्रामा सहयोग पुर्‍याउनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न र प्रतिबद्ध उनको आह्वान छ।

विस २०४७ मा विद्यार्थीकालमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काफलचौर माध्यमिक विद्यालयमा सङ्गठित भई राजनीतिमा प्रवेश गरेका गिरी पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति, नेकपा(एमाले)पर्वत जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै पार्टी केन्द्रीय कमिटी सदस्य छन्।

विस २०७४ र २०७९ मा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसद गिरीले यसअघि कानुन,न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको कार्यभार सम्हाले उनै गिरीसँग नारायण न्यौपाने र नवीन पौडेलले गरेको कुराकानीको सम्पादित अंश:

मुलुकमा अहिले भइरहेको राजनीतिक अभ्यासलाई यहाँले कसरी हेरिरहनुभएको छ?
देशको राजनीतिक अहिले पनि अप्ठेरो स्थितिबाट अघि बढिरहेको छ। अर्थतन्त्र कमजोर स्थितिमा छ। रोजगारीका अवसर गुमेको तथा सेवा प्रवाहलाई पनि अपेक्षाकृतरुपमा अघि बढाउन सकिएको छैन। यो परिस्थितिलाई बिरासतकैरुपमा लिएर वर्तमान सरकार गठन भएको थियो। आमजनता शिक्षा, स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा शीघ्रअनुभूत गर्नेगरी काम भएको हेर्न चाहन्छन्। पछिल्लो समय अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिन थालेको छ। पहिलेका तुलनामा राजनीति पनि स्थायित्व र सुधारको बाटोमा अघि बढेको छ। सरकार जनतातर्फ फर्केको अनुभूति भएको छ। जनहितका लागि केही गरौँ भन्ने सरकारले प्रयास गरेको छ। मुलुकका दुई प्रमुख राजनीतिक पार्टीहरू, नेकपा एमाले र नेपाली काँग्रेस, मिलेर बनेको सरकार हुनुका नाताले जनताको ठूलो अपेक्षा छ। परिस्थिति आँकलन गरी सरकारले अझै गम्भीर र मेहेनतकासाथ काम अघि बढाउनुपर्छ भन्ने लाग्छ।

वर्तमान सरकारको संविधान संशोधनको पृष्ठभूमिसँग जोडिएर गठन भएको छ, अहिले संशोधनको विषय चर्चामा छ, के विषयमा, कसरी संशोधन प्रक्रिया अघि बढ्छ?
संविधान संशोधन गर्नपर्ने दुईतीन वटा कारण छन्। स्वयम् संविधानको धारामै पनि दश वर्षमा समीक्षा, पुनरावलोकन र समीक्षा गर्ने विषय परिकल्पना गरिएको छ। अहिले नयाँ विषय अघि सारिएको होइन। मुलुकमा राजनीतिक अस्थिरता हुँदा सुशासन र विकास प्रभावित भएको पक्षलाई मध्यनजर गर्दै स्थायित्व कायम गर्नका निम्ति पनि संशोधन गर्न खोजिएको हो। कतिपय संवैधानिक अङ्गका मौजूदा व्यवस्थालाई चुस्त र व्यवहारिक बनाउन आवश्यक छ। जनताका पक्षमा कार्यान्वयनमा लैजान संविधान संशोधनका विषय उठेका हुन्।

समावेशी, सहभागितामूलक र समानुपातिक चरित्रलाई थप सुनिश्चित गर्दै संविधानलाई समयानुकूल तुल्याउन संशोधन आवश्यक हुन सक्छ। त्यसै वरिपरि रहेर संशोधनका विषयमा संवाद चलेका हुन्। उपयुक्त समयमा आवश्यक विषय बाहिर आउला। केही नेता र दल विशेषको नभई आमजनताका सरोकार रहेकाले छलफल र संवादका आधारमा उपयुक्त ढङ्गबाट संशोधनलाई अघि बढाउन सकिन्छ। यसमा सबै नागरिकले आफ्ना अभिमत, विचार राख्ने र छलफल गर्दै नागरिकको सहभागिता जुटाउने काम गर्नुपर्छ।

संविधान संशोधनको बहस चलिरहँदा प्राप्त उपलब्धि नै पो गुम्छ कि भन्ने कोणबाट आशङ्का भइरहेको छ, यसमा यहाँको भनाइ के हो?
सर्वप्रथम जनताले पाएका अधिकार र उपलब्धिको रक्षा गरिनुपर्छ। नागरिकका समस्यालाई सम्बोधन गरिनुपर्छ। मुलुकको राजनीतिक स्थायित्वलाई बल पुर्‍याउन अनावश्यक संयन्त्रको जालोलाई सीमाबद्ध गर्नुपर्छ। संशोधन अहिले नै यो बुँदा, धारा, ठाउँ भनेर किटान गर्न मिल्दैन। संशोधनको मुद्दा निकै महत्त्वपूर्ण र संवेदनशील विषय हो। उठेको विषयलाई सम्बोधन गर्न संशोधन भने आवश्यक भइसकेको छ। समावेशी र समानुपातिक प्रतिनिधित्वलाई कहीँ कतैबाट पनि आँच पुग्ने कोणबाट विषय उठाइनु हुन्न। त्यसमा नेताहरू प्रतिबद्ध हुनुहुन्छ। जनतालाई अझै बढी अधिकारसम्पन्न गराउने कुरालाई सोचेर संशोधन अघि बढाउनुपर्छ।

मुलुकका राजनीतिक परिवर्तनमा एउटै मोर्चामा रहेर योगदान गरेका शक्तिहरुबीच पछिल्लो समय हार्दिकता टुटेको भन्ने टिप्पणीप्रति यहाँको भनाइ के हो?
राजनीतिक दलहरुबीच कतिपय सन्दर्भमा सहकार्य र कहिले प्रतिस्पर्धीका रूपमा रहन पर्ने अवस्था हुन्छ। मुलुकको अर्थतन्त्रका सन्दर्भमा हामी आन्तरिक र बाह्य जटिलताबाट गुज्रिरहेका छौँ। देशको भू–राजनीति जस्तो कठिनाई छ, जनतामा विकास, सुशासन, समृद्धिप्रतिको हुटहुटी र व्यग्रतालाई मध्यनजर राख्दै ठूला दलहरू कम्तिमा पनि केही समयका लागि देशको विकास, सुशासन, समृद्धि र राजनीतिक स्थिरताका लागि एक ठाउँमा उभिनुपर्छ। होइन भने जनतामा थप निराशा बढेर जाने खतरा उत्पन्न छ। त्यसबाट सिङ्गो राजनीतिक प्रणालीप्रति एकखाले चुनौती उत्पन्न हुन सक्छ। त्यस कारण पनि प्रमुख शक्तिबीच गम्भीरताकासाथ सहकार्य गरेर जान अत्यन्त आवश्यक छ।

यसै पृष्ठभूमिमा प्रमुख दुई दल मिलेर सरकार गठन भएको विषयलाई स्वाभाविक मान्नुपर्छ। काँग्रेस र एमालेबीच भएका समझदारी खुलस्त छन्। संविधान संशोधन र सरकारको आलोपालो भन्ने विषय जनतामा आइसकेको छ। अरु शङ्का र दुबिधा पाल्न पर्ने कुरा छैनन्। वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देशको हित हुन्छ। त्यसैले सबै आ–आफ्नो ठाउँमा प्रतिबद्ध हुनुपर्छ भन्ने मेरो भनाइ हो।

हरेक पटक सरकार परिवर्तन हुँदा सुशासन प्राथमिकता भनिँदै आएको छ, तर अभ्यास र व्यवहारमा त्यो देखिन्न नि?
सुशासनको एजेण्डा अनुरूप राज्यका संयन्त्रहरू त्यसप्रति प्रतिबद्ध भएको नागरिकले अनुभूति गरेका छैनन्। यो सत्य कुरा हो। मुलुकमा हिजोभन्दा आज भ्रष्टाचार बढेको होइन। विगतमा अकूत सम्पत्ति कमाउने र देशलाई लुटेर खाने ठूलो हिस्सा थियो। सुशासनको अनुभूति त परैजाओस भन्न, बोल्न र माग गर्न नपाइने बेला थियो। त्यसलाई बिर्सन मिल्दैन। अहिलेजस्तो भ्रष्टाचारका तमाम घटना बाहिर आउन सक्दैन थिए। पत्रपत्रिका, सामाजिक सञ्जाल र अरु मिडियामा आउन सक्ने स्थिति थिएन। अहिले हरेक नागरिकले सचेत गराएका छन्।

समाज विरुद्धका भ्रष्टाचारजस्ता विषय नागरिकले उठाउन र बाहिर ल्याउन सक्ने भएका छन्। सबैलाई मुलुकको अवस्था के हो भन्ने जान्ने र बुझ्ने वातावरण बनेको छ। सुशासनको क्षेत्रमा जस्तो कठोर नीति लिनपर्थ्यो त्यो लिन सकेको अवस्था छैन। हामीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरणजस्ता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न स्थापित संरचना र संयन्त्र छन्। ती संयन्त्रले स्वतन्त्र र प्रभावकारीरुपमा काम गर्नुपर्छ। सुशासन भएन भने विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्भव हुँदैन। राष्ट्रसेवक कर्मचारीदेखि नेताहरुले सुशासनप्रति आ–आफ्नो ठाउँबाट इमान्दार र प्रतिबद्ध हुनुपर्‍यो। देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्‍यो।

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति स्वतन्त्र ढङ्गबाट नभई आदेशपालक छनौट हुन्छ भनी प्रश्न उठिरहेका बेला कार्यसम्पादनको कस्तो अपेक्षा गर्न सकिएला र?
संवैधानिक निकायमा स्वतन्त्र ढङ्गले नियुक्ति हुने र काम गर्ने प्रणाली हामीले विकास गर्नुपर्छ। त्यो गर्न सकिएन भने कुनै न कुनैरुपले दल विशेषको छायाँ हाबी हुन्छ। त्यस्ता निकायमा राजनीतिक प्रभाव र छायाँ पर्न गएमा स्वतन्त्रपूर्वक काम गर्न र निर्णय लिन नसक्ने अवस्था हुन्छ। पदाधिकारी छनौट प्रक्रियाको उत्तम विकल्प के हुन सक्छ भन्नेमा गहन छलफल र बहस हुनुपर्छ।

हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली खर्चिलो, यसबाट भ्रष्टाचारलाई मलजल गरेको छ भन्ने प्रतिक्रियाप्रति यहाँको धारणा के हो?
निर्वाचन प्रणालीका सन्दर्भमा राजनीतिक दलले उद्योगी, व्यापारी वा कुनै चन्दादातासँग खर्च लिएर चुनाव लड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। चुनावमा चन्दा लिए पछि त्यसप्रति सहानुभूति हुन्छ। त्यो स्थितिले सुशासन कायम गर्ने सन्दर्भमा समस्या सिर्जना गर्छ। त्यसकारण राजनीतिक दललाई हैसियत अनुसार विधि बनाएर पार्टी सञ्चालनका लागि राज्यले नै खर्च दिने प्रणाली अघि बढाउन सकिन्छ।

चन्दा र सहयोग लिने अहिलेको अभ्यासले सुशासन कायम गर्न अप्ठेरो स्थिति सिर्जना हुन्छ। अहिलेको निर्वाचन प्रणालीले हाम्रोजस्तो मुलुकमा राजनीतिक स्थायित्व दिने विषयमा समस्याकारुपमा रहेको छ। समानुपातिक र समावेशी प्रतिनिधित्वलाई थप मजबुत तुल्याएर राजनीतिक स्थायित्व दिँदै एउटै पार्टीले कम्तिमा पाँच वर्ष शासन चलाउने अवस्था कसरी बनाउन सकिन्छ रु त्यसतर्फ सबैले सोच्नुपर्छ।

अहिलेको निर्वाचन प्रणालीबाटै पनि दल विशेषको बहुमत आउन सक्छ, त्यसका लागि पार्टीले जनतालाई खुसी तुल्याउन सक्नुपर्छ भन्ने दृष्टिकोण पनि छ नि?
अहिलेकै निर्वाचन प्रणालीबाट दल विशेषको बहुमत आउँछ भन्ने विषय आदर्शवादी कुरा मात्रै हो। एउटा दलले सर्लक्क बहुमत ल्याउन सक्ने अवस्था छैन। एउटैले ल्याउन सक्छ भन्ने आदर्शवादी कुरा व्यवहारमा हुन्न। गठबन्धन नभई सरकार बनाउन नसकिने अवस्था छ। यसरी अघि बढ्दा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सकिन्छ? वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन। त्यो उपयुक्त कुरा होइन। यतिका राजनीतिक दल छन्। त्यसमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संविधानको मर्म र भावना छ। यस विषयमा ऐन र संविधानमा संशोधन गरेर अघि बढ्नै पर्छ। आदर्शले मात्र समाज चल्दैन, व्यावहारिक पक्ष हेरिनुपर्छ। त्यसलाई ध्यानमा राखेर निर्वाचन प्रणालीलाई अद्यावधिक गरिनुपर्छ।

पर्वत जिल्लामा विकासको प्राथमिकता र जनताका अपेक्षा के हुन्?
जिल्लामा आधारभूत पूर्वाधार निर्माण छिटो होस् भन्ने जनचाहना छ। स्थायी प्रकृतिको सडक नहुँदा कृषि उत्पादन सहर पुर्‍याउन सकिएको छैन। किसानले जिल्लामा उत्पादन गरेको दूध, दही बजार पुर्‍याउन सहजहुनुपर्छ। सडकको पहुँच नहुँदा जनतालाई ठूलो असुविधा भएको छ।गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सकिएको छैन। अस्पताल र स्वास्थ्यचौकी भवन छैनन्। सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ। जनशक्तिलाई अद्यावधिक गराउन विशेष ध्यान दिन पर्नेछ। त्यसलाई छिटो सम्बोधन हुनुपर्छ भन्ने गुनासो छ।

शिक्षा सुधारका लागि नीतिगत र प्रणालीगत सुधार आवश्यक छ। सेवा प्रवाहका विषयमा पनि जनताका एकखाले गुनासा छन्। रोजगारीका अवसर छैनन्। जनतामा मुलुकमा राजनीतिक स्थायित्व र सेवा प्रवाह चुस्त नहुँदा चिन्ता र गुनासा पाइन्छ। त्यसमा हामी राजनीतिक दलले गम्भीरताका साथ काम गर्नुपर्छ। अब ढिलाइ गर्ने छुट हामीलाई छैन।

तपाईँले कानुन र स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गर्नु भइसकेको छ, वास्तवमा सरकार भनेको के रहेछ?
सरकार भनेको सिङ्गो नागरिकको सम्पूर्ण जिम्मेवारी लिएको कार्यकारी निकाय हो। सरकारले गर्न नसक्ने भन्ने कुरा हुन्न। सरकारले विश्वास कायम गरी काम गर्ने वातावरण भने हुनुपर्छ। अहिले पनि राजनीतिक अस्थिरताका कारण गठबन्धन गरी सरकार बनाउन पर्ने अवस्था छ। त्यसले कुनै दलले घोषणापत्र कार्यान्वयन गर्न सक्ने स्थिति छैन। कतिपय विषयमा सम्झौता गर्नुपर्ने अवस्था छ। सेवा प्रवाहमा पनि चुनौती छ। यो महसुस भएको छ। नागरिकका समस्यालाई समाधान गर्ने र देशमा भविष्य छैन भनेर व्यक्ति, टोल, गाउँ र जिल्लामात्रै नभई देशै खाली हुने अवस्थालाई सम्बोधन गर्न गहिरो र फराकिलो सोचका साथ हामीले काम गर्न सक्नुपर्छ। युवालाई राष्ट्र निर्माणमा फर्कन प्रोत्साहन गर्नुपर्छ।

युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न तथा विभिन्न चपेटामा परेका नागरिकलाई उत्साह प्रदान गर्ने केही सन्देश छ रुविगत एक दशक नेपाली समाज द्वन्द्वको चपेटामा गुज्रन पर्‍यो। राज्यको ठूलो स्रोतसाधन त्यसमा खर्च भयो। देशले भौतिक, आर्थिक र मानवीय क्षति व्यहोर्न पर्‍यो। त्यसलगत्तै भूकम्प र विभिन्न महामारी खेप्न पर्‍यो। त्यसपछि पनि राजनीतिक स्थिरता नहुँदा अपेक्षाअनुरूप काम गर्न सकिएन। तथापि, देशमा सडक पूर्वाधारका क्षेत्रमा काम भने भएकै छ। दूरदराजमा सडकको पहुँच र गाउँगाउँमा पक्की बाटो निर्माण हुँदैछन्।

खानेपानीका आयोजना र अस्पताल निर्माण र सञ्चालन भइरहेको छ। विकास पूर्वाधार र सेवाका क्षेत्रमा राज्यको ठूलो धनराशि खर्च भएको छ। पाँच दश वर्षभित्र आधारभूत तहको विकासका पूर्वाधार पुर्‍याउन कोसिस भइरहेको छ। त्यसबाट जनतालाई रोजगार र उद्यममा जोडिने वातावरण बन्छ। हाम्रो भविष्य अत्यन्तै सुन्दर छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र अर्थ लिएर संसारभर फैलिएका नेपाली घर फर्कने छन्। विभिन्न पेसा व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीमा यो राप र ताप छ।

देश निर्माणका सवालमा तपाईँलगायतका राजनीतिक दलका नेताको भूमिका आगामी दिनमा के रहन्छ?
राजनीतिक दलका नेताहरुले पनि यो विषयलाई गम्भीरताकासाथ लिनु हुनेछ। अहिले अमेरिकाले आप्रवासीप्रति लिएको नीतिले प्रत्येक देशका नागरिक आफ्नै मुलुकमा मात्र सुरक्षित रहन सक्छौँ भन्ने पुष्टि गरेको छ। केही समय अध्ययन, व्यापार व्यवसाय र रोजगारीमा विदेश गएपनि अन्तत: मातृभूमिमै फर्केर देशको सेवा गर्नुपर्छ। त्यसका लागि राजनीतिक दल र सरकारले वातावरण बनाउनेछन्। हामीले पनि सोही भावना अनुरूप जिम्मेवारी लियौँ भने १० वर्षभित्रै नेपाललाई विकासको उदाहरणकारुपमा उभ्याउन सक्छौँ। त्यो सम्भावना छ। त्यसका लागि भएका स्रोतसाधन र जनशक्तिको समुचित ढङ्गले उपयोग गर्न सक्नुपर्छ। नेपाललाई समृद्ध राष्ट्रकारुपमा चिनाउन सकिन्छ। हामी सबै जुट्नुपर्छ। नेपालमै अथाह सम्भावना छ।

प्रकाशित: २०८१ फाल्गुण २४ गते शनिवार ०१:३६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना