काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि खनिएका छन्। पूर्वराजा पोखराबाट काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई राप्रपा र राप्रपा नेपालले आफूहरूले गरेको जस लिन खोजेको भन्दै प्रसाई उनीहरुमाथि खनिएका हुन्।
भक्तपुरस्थित आफ्नै निवासमा प्रसाईँले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेका थिए। सम्मेलनमा उनी व्यक्तिव्यक्तिमाथि खनिएनन् मात्र, राजसंस्था जानुको सबैभन्दा ठूलो दोष पनि राप्रपालाई लगाए।
आफूले ठूलो जनसमूह जुटाएर पूर्वराजाको स्वागत गर्न सफल भएको दाबी गरेका उनले राजेन्द्र लिङ्देन र कमल थापाहरू राजनीतिक ढोक्सा थाप्न मात्र आएको पनि आरोप लगाए।
‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दू अधिराज्य जान्थ्यो,’ उनले भने, ‘राजसंस्था र हिन्दू अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न खोज्ने? म कसैको गोठालो होइन। राजाले पनि धैर्य भएर सोच्नु होला। तपाईले कलियुगमा दुर्गा प्रसाई जत्तिको अर्जुन भेट्टाउनु हुन्न। तपाईंले सारथीहरू देखिसक्नु भयो। गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओलीसँग फोन गर्ने। माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने?’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। उनले लिङ्देन र थापालाई विश्वास नगरेर आफूलाई विश्वास गर्न भनेका थिए।
फागुन २५ गतेको जनप्रदर्शन भव्य रूपमा सफल भएपछि राजावादीहरुबीच यसको जस लिने होड चलेको छ। नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले यो जनप्रदर्शनको आयोजना आफूले गरेको दाबी गरेका छन्।
पूर्वराजाको भव्य स्वागत आफूले आयोजना गरेको जस लिन लागि परेका प्रसाईँ केही कारणले थापा र लिङ्देनमाथि खनिएका हुन्।
विमानस्थलमा पूर्वराजासँग लिङ्देन र थापाले भेट गरेको विषयले पनि प्रसाईँलाई सशंकित बनाएको हो। विमानस्थलमा आउँदाजाँदा विशिष्ट कक्ष प्रयोग गर्ने गरेका पूर्वराजा ज्ञानेन्द्रसँग राजाले भेट गरेको विषय सार्वजनिक भएपछि प्रसाईँलाई आफूले जस नपाएको विषयमा आक्रोश उत्पन्न भएको हो।
काठमाडौँ महानगरपालिकाको जरिमानाका कारण पनि प्रसाईँ आक्रोशित बनेका हुन्। काठमाडौँ महानगरपालिकाले २५ गतेको स्वागत जुलुसमा फोहोर गरेको भन्दै राप्रपालाई जरिवाना गराएको थियो। आफूले जुलुस र प्रदर्शनको व्यवस्थापन गर्ने तर महानगरले भने राप्रपालाई जरिमाना लगाएर त्यसको जस पनि उसैलाई दिएको भन्दै प्रसाईले असन्तुष्टि व्यक्त गरेका हुन्।
राप्रपासँग प्रसाईँ असन्तुष्ट बन्नुको अर्को कारण हो- पूर्वराजाको स्वागत समारोह निर्मल निवास पुगेपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले गरेको सम्बोधन। उक्त प्रदर्शनको समापनमा शाहीले सम्बोधन गर्दै राजतन्त्र, प्रदेश खारेजी र हिन्दूराष्ट्र स्थापनाको प्रस्ताव गरेका थिए। तर त्यो बेला प्रसाईँले कार्यक्रममा सम्बोधन गर्न पाएनन्। यसले पनि प्रदर्शनको जस राप्रपालाई गएको देखिएकाले उनी सन्तुष्ट हुन नसकेका हुन्।
मंगलबारको पत्रकार सम्मेलनमा प्रसाईँ राजेन्द्रमाथि खनिनुको कारण चुनाव पनि हो। गत चुनावमा प्रसाईँ एमालेबाट झापा-३ को उम्मेदवार बन्न चाहन्थे। त्यसका लागि उनले तयारी गरेका पनि थिए। स्थानीय चुनाव भएपछि उनले ठूलो लगानी पनि गरेका थिए। स्थानीय सामाजिक संस्थालाई सहयोग गर्दथे। ट्युबेललगायतका सामग्री बाँड्थे। यसको एक मात्र कारक चुनावमा जित निकाल्नु थियो।
तर झापा-३ मा एमालेले प्रसाईँलाई टिकट दिएन। टिकट नदिएपछि उनी एमाले अध्यक्ष ओलीसँग आक्रोशित बन्न पुगे। एमाले पार्टी परित्याग गरि समाजिक अभियान र आन्दोलन हुँदै राजावादी बनेका हुन्। तर उनलाई नदिइएको टिकटमा ओलीले अर्को कुनै व्यक्तिलाई पनि उठाएनन्। बरु उनै राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय पार्टीमा गराए। प्रसाईंले टिकट नै नपाएको स्थानबाट लिङ्देनले चुनाव जिते। आफूले पाइसकेको टिकट कसैलाई पनि नदिएर विचार नमिल्दो दल राप्रपालाई समर्थन गर्न ओलीले गरेको निर्णय उसबेला एमालेमा पनि आलोचना भएको थियो। त्यसको सिकार आफू भएको प्रसाईंले महसुस गरेका कारण पनि लिङ्देनप्रति उनी आक्रोशित बनेका छन्।
उनै लिङ्देन आफूले बल्लबल्ल गरेको प्रदर्शनको जस लिने बेलामा टक्रिएकोमा प्रसाईंलाई चित्त बुझेको छैन।
उता कमल थापाले पनि एमालेबाट साथ पाएका छन्। गत चुनावमा कमल थापा एमालेको चिह्न ‘सूर्य’बाट चुनाव लडेका थिए। यसप्रति पनि प्रसाईँ सन्तुष्ट छैनन्।
राजनीतिक रूपमा बेलाबेलामा पद पाइसकेका नेताहरु हुन्- कमल थापा र राजेन्द्र लिङ्देन। दुवै जना उपप्रधानमन्त्री बनिसकेका व्यक्तित्वहरू हुन्। उनीहरू आफ्नो सिद्धान्तमा ढुलमुले भएपनि लामो समयसम्म राजतन्त्रको वकालत गरेका व्यक्तिहरू हुन्। तर प्रसाईं राजावादी बनेको लामो समय भएको छैन। थापा र लिङ्देनभन्दा आफू ठूलो राजावादी बनेको देखिनुपर्ने छ प्रसाईंलाई। तर थापा र लिङ्देन पनि एउटै मोर्चामा आउँदा आफू जुनियर पर्ने भयले प्रसाईंलाई चिन्तित तुल्याएको छ।


