मानवीय चाहना र जीवनको निरन्तर असन्तुष्टि पनि अचम्मको छ। यो विषयमा जति गहिरो सन्देश दिएपनि त्यो कुरा मान्छेले पढ्छ, एकैछिनमा बिर्सन्छ। फेरि दुःखी हुन थालिहालेको हुन्छ।
खुसीका विषयमा मानिसका आ-आफ्नै तर्क होलान्। मेरा पनि केही अनुभूति छन्। तर, मान्छे सन्तुष्ट हुन नसक्ने प्राणी हो। मान्छेबाट सन्तुष्टि सधैं टाढा टाढा भागिरहेकै हुन्छ। सन्तुष्टिसँग मानिसको भेटघाट हुन्थ्यो भने मान्छे खुसी हुन सक्थ्यो।
मानिसको स्वभाव नै यस्तो छ कि नपाउँदासम्म कस्तो होला भन्ने हुन्छ पाएपछि जति भए पनि नपुग्ने हुन्छ। बल्लतल्ल पुगेको कुरा पनि अधुरो महसुस गर्ने स्वाभाव हुने रहेछ।
सानो हुँदा मान्छेलाई एउटा खेलौना भए पुग्थ्यो। त्यही खेलौनासँग ऊ घण्टौं रमाउँथ्यो। स्कुल गएर फर्कनेबित्तिकै ऊ खाजा खान्थ्यो र साथीहरुसँग खेलौना बोकेर दोबाटो र चौपारी पुगेर फेरि खुल्थ्यो, ऊ खुसी थियो।
केही वर्षपछि ऊ ठूलो भयो, राम्रो कापी–किताब भए केही चाहिन्न जस्तो गर्ने भयो। बुबाआमाले त्यो पनि पुरा गरिदिए। त्यसले केही समय ऊ खसी देखियो। तर त्यो खास खुसी धेरै समय टिकेन। उसलाई अब अलिकति ठूलो र आकर्षक देखिने कापी चाहियो। त्यही कापी साथीभाइलाई देखाएर उसले १० वर्षको कलिलो उमेर पार गर्यो।
समय बित्दै जाँदा, चाहनाहरू बदलिन थाल्छन्, त्यो कुरा हामीले अहिले बुझ्छौँ। तर, उसले बुझ्ने कुरा भएन। ११ वर्ष पुग्दानपुग्दै उसलाई साइकल चाहियो। संघर्ष गरेर साइकल किनेपछि उसको खुसी एकछिन रह्यो, तर फेरि नयाँ सपना जन्मियो- अब मोटरसाइकल हुनुपर्छ। १० कक्षा पास गरेर प्लस टु भर्ना हुने बेला उसलाई अब नभै नहुने कुरा भनेको मोटरसाइकल बन्यो।
बुबाआमाले जे भन्छन्, त्यही मान्दै, फकाएर भएपनि उसले राम्रै संघर्ष गरेर त्यो पनि पायो। तर प्लस टु सकेर ब्याचलर भर्ना भयो। उसको मन अझै खालीझैँ देखिन्छ। ब्याचलर भर्ना हुँदै गर्दा अरूले कार चलाइरहेका देखेपछि ऊ फेरि असन्तुष्ट बन्यो।
मैले बुझेको र अनुभूति गरेअनुसार एउटा काम राम्रोसँग गर्ने, साधारण जीवनशैली अपनाउने, आध्यात्मिक चिन्तन गर्ने, हिँडडुल र घुमफिर गर्ने, खानपानमा ध्यान दिने, स्मार्ट तरिकाले जीवनशैली अगाडि बढाउने हो भने जीवन सहज बन्छ।
सानोतिनो बिजनेस सुरु गर्यो, कार पनि लियो। तर, सहरमा संगत बढ्दै जाँदा साथीहरू विदेश जाँदै गरेको देख्यो। उसलाई पनि लाग्यो, ‘विदेश पुगे त जिन्दगी सेट हुन्छ।’ र, भएको बिजनेस छोड्यो, ऋणधन गरेर उसले विदेशको यात्रा थाल्यो, युरोप पुग्यो।
ठूला बिल्डिङ, नयाँ ठाउँ, नयाँ साथीभाइहरू। वातावरण पुरै बदलियो। तर, केही महिनापछि उसमा थप वितृष्णा सुरु भयो, के गरौँ–के गरौँ हुन पुग्यो।
विदेश त्यति सहज भएन अब। नेपालमा भन्दा फरक थियो- काम गर्नुपर्थ्यो। बुबाआमालाई अर्डर दिएर खाना पकाइदिने कोही थिएन विदेशमा। संघर्षको महाभारत पढ्नै सकेन उसले। ऋणको भारी थियो, आफैँलाई खान र कोठाको पैसा तिर्न गाह्रो थियो। नेपाल पठाउने त कुरै भएन। अनि ऊ सोच्न थाल्यो, ‘नेपालमै फर्केर केही गर्छु यार!’ मान्छेका लागि निर्धारित उमेरको आधा यात्रा गर्दा पनि ऊ कहिल्यै सन्तुष्ट हुन सकेन।
यो कुरा तपाईँ आफ्नै जीवनसँग मिलाउन खोज्नुभयो धेरैको जिन्दगीसँग मेल खाएको हुन्। यो तपाईँ र मेरो मात्रै होइन- थुप्रै व्यक्तिको कथा हो।
कहिले कार, कहिले विदेश, कहिले प्रतिष्ठा! हाम्रो मन सधैं केही नयाँ सपना कोर्दै अघि बढ्छ। जब एउटा सपना पूरा हुन्छ, अर्को सपनाले तान्न थाल्छ। यसरी जीवनभर हाम्रो दौडादौड भइरहन्छ। तर साँचो खुसी कहिल्यै भेटिंदैन।
खासमा खुसी बाहिर कतै छैन। हामीले खोज्ने खुसी न त कारमा छ, न विदेशमा। न त उच्च पदमा। साँचो खुसी आफ्नै जीवनशैलीमा छ। हामीले सोच्ने तरिकामा छ। साना कुरामा सन्तोष मान्न सकिन्छ भने त्यहाँ छ खुसी। मैले बुझेको र अनुभूति गरेअनुसार एउटा काम राम्रोसँग गर्ने, साधारण जीवनशैली अपनाउने, आध्यात्मिक चिन्तन गर्ने, हिँडडुल र घुमफिर गर्ने, खानपानमा ध्यान दिने, स्मार्ट तरिकाले जीवनशैली अगाडि बढाउने हो भने जीवन सहज बन्छ।
सपना र चाहना हुनु भनेको नराम्रो हो भन्ने कुरा मेरो कुरा कदापि होइन। सपना देख्नु र त्यसलाई प्राप्त गर्न प्रयास गर्नु त पर्छ नै। तर, कतिपय महत्त्वाकांक्षाले कहिल्यै सन्तुष्टि नदिने खेलमा फसाउने सम्भावना पनि हुन्छ। सपना र महत्त्वाकांक्षाबारे बुझ्न जरुरी छ। र, साँच्चिकै सफल जीवन त्यो हो, जहाँ जीवनको प्रत्येक पललाई आनन्दपूर्वक जिउन सकिन्छ। खुसी भएर जिउनुस् है त!
(घिमिरे पत्रकारिता विषयमा स्नातक अध्ययनरत छिन्।)



