काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकसँग भयभित देखिएका छन्। फागुन २५ गते पोखराबाट काठमाडौँ आएका पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूको जनलहरका कारण उनी भयभित भएको उनका अभिव्यक्तिहरूले देखाएका छन्।
पूर्वराजाका समर्थकहरूको पक्षमा ठूलो जनलहर देखिएपछि पत्रकारहरूले सोधेको जिज्ञासामा उनले आफ्नो केही पनि नहल्लाएको जिकिर गरे पनि उनका व्यवहारले भने त्यसलाई भय सिर्जना गरेको देखिन्छ। खासगरी अन्य दलका नेताहरूले राजावादीहरूको सक्रियतालाई खास चासो नदिएर शान्त पार्न खोजे पनि भयको पुष्टि हुने गरी प्रचण्डले अभिव्यक्ति दिइरहेका छन्। अभिव्यक्ति मात्र होइन, चलिरहेको आफ्नो दलको एकल प्रस्तुतिको मधेश अभियानलाई रोकेर काठमाडौँ फर्किएका छन्। समाजवादी मोर्चालाई सक्रिय बनाएर काठमाडौँमा चौगुणा शक्ति प्रदर्शनको निर्णय पनि लिइसकेका छन्।
यी घटनाक्रम र अभिव्यक्तिले प्रचण्डमा मनमुटुमा भएको भय सतहमा ल्याएको मात्र छैन, काउन्टर अट्याक प्रत्युत्पादक हुन सक्ने हेक्का भने प्रचण्डले राखेका छैनन्। कतिपय अवस्थामा पूर्वराजाका समर्थकहरूको आन्दोलन र विरोधका कार्यक्रमलाई चर्काउन अप्रत्यक्ष रूपमा सहयोग पुग्न सक्ने तर्फ पनि सचेत छैनन्।
शनिबार समाजवादी मोर्चाले राजावादीहरुको सक्रियता बढेको भन्दै त्यसप्रति काउन्टर प्रदर्शन घोषणा गरिसकेको छ। चैत १५ गते काठमाडौँमा जुलुससहित काउन्टर प्रदर्शन गर्ने मोर्चाको विज्ञप्तिमा प्रचण्ड आफैँले हस्ताक्षर गरेका छन्।
चार दल मिलित समाजवादी मोर्चाले राजावादीहरूलाई प्रतिगामी र पुर्नउत्थानवादी भनेको छ। यो मोर्चाका हर्ताकर्ता प्रचण्ड हुन्। मोर्चाले उनीहरूको गतिविधिलाई षड्यन्त्र भनेको छ।
‘प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ,’ शनिवार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा मोर्चाले भनेको छ, ‘यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ।’ मोर्चामा चार दल छन्। मोर्चामा प्रचण्ड नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेसपा छन्। चन्द प्रचण्डकै नेतृत्वमा सशस्त्र संघर्षमा होमिएका थिए, यादवले प्रचण्ड नेतृत्वकै दलमा नेसपालाई समाहित गर्ने निर्णय गरिसकेका छन्। उनी माओवादीकै चुनाव चिह्नमा निर्वाचनमा होमिएर विजयी भएकाले उनीमाथि पनि माओवादीकै ह्विप लाग्ने अवस्था छ। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा रहँदा नेपाल र प्रचण्ड एकै कित्तामा उभिएर तत्कालीन अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा लागेका थिए।
देशको विषम परिस्थिति आइलागेको बताएको समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विरोधमा जानुपरेको उल्लेख गरेको छ। देशमा संकट आइपुगेको ठहर गरेको मोर्चाले गणतन्त्रका पक्षधर संसदभित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गर्नेसमेत भनेको छ। चैत १५ को सभाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्ने उसको जिकिर छ। राजतन्त्र पुनर्स्थापनको माग गर्नेलाई मोर्चाले प्रतिगामी र प्रतिक्रियावादी षड्यन्त्र भनेको छ।
मोर्चाले ४ सहमति गरेको भनिएको छ। विज्ञप्ति स्वरूपको सहमतिमा चारै दलका अध्यक्षहरूको हस्ताक्षर भएकाले यसलाई बलियो देखाउने काम प्रचण्डले गरेका छन्।
राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित भएको मोर्चाको आरोप छ। ‘राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ,’ मोर्चाले भनेको छ, ‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ। सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित छ। लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ। अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ। सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ।’
सोमबारकै पत्रकार सम्मेलनमा उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्नुपर्ने आफ्नो माग यथावत रहेको बताए। आफूले उक्त कुरा पहिलेदेखि नै उठाउँदै आएको उनको भनाइ छ।
‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं। त्यसबेला निष्पक्ष छानबिनको कुरा उठाएका थियौं। पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ।’
शुक्रबार मात्र दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा र मूर्तिचोर जस्ता गम्भीर आरोप लगाएका थिए। सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।
‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको छ? मूर्ति चोर को हुन्?,’ उनले भने, ‘नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सिएको भन्ठानेको?’ दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदैमा दरबार हत्याकाण्ड छानबिन गर्न खोजेको तर कार्यकाल पूरा नहुँदा छानबिन प्रभावित भएको जिकिर गरेका थिए।
‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ,’ उनले भने, ‘मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो।’
यसअघि फागुन २६ गते दाहालले राजावादीको प्रदर्शनबाट आफू विचलित नभएको जिकिर गरेका थिए। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरवारमा भेटेपछि सञ्चारकर्मीहरूले गरेको ‘राजावादीको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्नको जवाफमा दाहाले सरकारी रबैयाका कारण उनीहरूले प्रदर्शन गरेको आरोप लगाएका थिए।
सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको समेत उनको भनाइ छ । ‘राजावादीहरूको प्रदर्शनको काउन्टरमा जाने हो?’ भन्ने प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन। केही भएको छैन। केको डराउनु। त्यस्तो लडाइँका बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले?’
प्रचण्डको अस्थिर चरित्रका कारण पनि जानीबुझीकनै अस्थिरतामा खेल्ने प्रयास गर्ने नेताका रूपमा पनि उनी चित्रित छन्। आफूलाई फाइदा हुने कुरा उनी फ्याट्ट बोल्दिइहाल्छन्। तर आफू कहाँ चिप्लिइरहेको भन्ने कुरा उनलाई पत्तै हुँदैन।
प्रदेश नम्बर १ को नामकरणका बेला माओवादीले ‘कोशी प्रदेश’ नाम राख्ने पक्षमा मतदान गरेको थियो। तर त्यसविरुद्ध पहिचानवादीहरूले विरोध सुरु गर्दै थिए। प्रचण्डले एकाएक आफूलाई कोशी प्रदेश चित्त नै नबुझेको भन्ने अभिव्यक्ति दिए। यसले आन्दोलनले हिंस्रक रूप लिएको थियो। ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने सरकारको तयारीपछि ‘नो केबुलकार’ अभियानले विरोध गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्ति उचित नभएको भन्दै एमालेलगायतका दलका नेताहरूले टिप्पणी गरेका थिए।


