काठमाडौँ– आसन्न नेपाल बार एशोसिएशनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन, नेपाल र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले तालमेल गरेका छन्।
नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका महासचिव ज्ञानेन्द्रप्रसाद अधिकारी, प्रगतिशील तथा पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिव ठाकुरप्रसाद आचार्यले एक संयुक्त विज्ञप्ति जारी गर्दै चैत्र २३ गते हुन लागेको निर्वाचनमा आफूहरु एकै ठाँउमा उभिएको जानकारी गराएका हुन्।
‘न्यायपालिकामा आमूल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।
तीन संगठनले न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नका लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्ने प्रतिवद्धता पनि जनाएका छन्।
बारको चुनावमा यी संगठनबाट वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला चुनावी मैदानमा छन्।


