इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए।
आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ। दशतले भवनको मध्य भागमा आज बिहान आगो सुरु भएको थियो।
भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो। हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ। आगो नियाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए।
गृहमन्त्री रमेश लेखकले व्यापारिक भवनमा भएको आगलागीको प्रतिकार्य तदारूकता साथ हुने विश्वास दिलाएका छन्।
‘सेन्टर प्लाजामा भएको आगलागीमा फसेका मानिसहरूको सकुशल उद्धार गरिएको छ,’ उनले भनेका भनेका छन्, ‘सुरक्षा फौज दमकल लगायत सबैले आगलागीमा पूर्ण नियन्त्रण गर्न निरन्तर काम गर्ने र बाकी खोज ऊद्धार लगायत प्रतिकार्य तदारूकता साथ हुने विश्वास लिएको छु।’


