काठमाडौँ, २६ चैतः राससमा मेरो जागिरको यात्रा २०२० भदौ २० गतेदेखि सुरु भएको हो। ‘हालखबर’ दैनिक बन्द भएपछि म काम खोज्दै जाँदा २०१६ सालमा सगरमाथा संवाद समिति (ससस)मा पुगेँ। त्यस बेला नेपालमा जम्मा दुई समाचार समाचार समिति थिए, ससस र नेसस। सससका सञ्चालकमा शङ्करनाथ पन्त र पशुपतिदेव पाण्डेहरू थिए भने नेसस सञ्चालक समितिमा गोविन्द वियोगीहरू थिए। सससको कार्यालय आदित्यध्वज जोशीको घर, खिचापोखरीमा थियो। त्यहाँ मैले केही समय काम गरेँ। सो कार्यालयको अवस्था पनि तन्नम थियो। आर्थिक रूपले जर्जर भएको पत्रिकालाई चन्दा खोजेरै भए पनि बचाएको मेरो जीवनमा उदाहरण छ। समाचार सङ्कलनमा होस् वा पैसा सङ्कलनमा, खोज्नुपर्ने काम आएपछि म एकदम मेहनत गर्थें। सससमा मेरो कार्यकाल छोटो रह्यो।
यता मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो। केन्द्रीय तथ्याङ्क विभागले २०१८ सालमा गरेको राष्ट्रिय जनगणनामा नेपालको सुदूरपश्चिम क्षेत्रमा र २०१९ सालमा कृषि गणनामा इलाममा मैले २६ महिना अस्थायी ‘सेक्सन अफिसर’ भएर काम गरेँ। त्यसपछि फेरि म बेरोजगार नै बनेँ। त्यसै बेला रासस (त्यतिबेला राष्ट्रिय संवाद समिति) मा केही मतभेद भएछ र केदारमान सिंहलगायत केही व्यक्ति राजीनामा दिएर बाहिरिएछन्। ती रिक्त पदपूर्ति गर्न भनेर सूचना प्रकाशन भयो। मैले पनि आकर्षक विज्ञापन देखेर दरखास्त दिएँ। लिखित जाँच भयो जसमा अङ्ग्रेजीको नेपाली र नेपालीको अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने पनि मूल विषय थियो। अङ्ग्रेजी नपढेको मेरा लागि त्यो परीक्षामा भाग लिनु नै ठूलो कुरा थियो। जे हुनु थियो, भयो। म अनुत्तीर्ण भएँ। यसरी राससमा जागिर खाने अवसर गुम्यो।
केही समयपछि संवाददाताको नियुक्ति पाएका एक व्यक्तिले पत्रिकारिता मन नपरेर प्रशासनिक जागिर खाने उद्देश्यले रासस छाडेछन्। अब एउटा पद रिक्त हुन आयो। त्यसमा फेरि विज्ञापन गरी परीक्षा लिएर नियुक्ति दिने समय सायद रहेन। दरबारका प्रमुख संवाद सचिव रेणुलाल सिंहले मलाई दरबारमा बोलाए र राससमा काम गर्ने हो भनी प्रश्न गरे। उनी राजाको सुदूरपश्चिम क्षेत्रको भ्रमणका क्रममा मेरो काम देखेर सायद प्रभावित भएका थिए। मलाई अङ्ग्रेजी नआउने तर संस्कृत पढेकाले समाचार सङ्कलन गर्ने तथा प्रुफसमेत हेर्नुपर्ने गरी जिम्मेवारी तोकेर २०२० भदौम रासस संवाददातामा तीन महिना परीक्षणकाल रहने गरी नियुक्त गरियो। तलब थियो रु २२५, ओहो ! धेरै पैसाको जागिर ! त्यो पनि स्थायी पाएकाले मेरो त खुसीको सिमाना नै रहेन। घरपरिवार पनि खुसी हुनु स्वाभाविक हो। जागिर सुरु गरिएको चार वर्षमा म प्रमुख समाचारदाता भएँँ।
रासस सञ्चालक समितिका अध्यक्ष राजाका संवाद सचिव रहने गर्थे। त्यस बेला राससको कार्यालय नयाँ सडकमा पुरानो अमेरिकी पुस्तकालयको पछाडिको घरमा थियो भने केहीपछि लगनमा स¥यो। महाप्रबन्धकमा त्यस बेला गोकुलप्रसाद पोखरेल थिए, पछि गोविन्दप्रसाद प्रधान भए। डा हर्क गुरुङ पनि राससका खेलकुद संवाददाता थिए। म बढीभन्दा बढी समाचार सङ्कलन गरेर ल्याउँथे। पञ्चायती व्यवस्था अत्यन्तै अनुदार थियो। उसका कर्मचारीबाट समाचार फुत्काउन निकै गाह्रो थियो। मन्त्री त झन् राजाका बफादार मान्छे, उनीहरूले पनि समाचार दिँदैनथे। व्यवस्थालाई सजिलो पर्ने र प्रचार गर्नुपर्ने खालका समाचार मात्र पाउन सकिन्थ्यो।
मेरो सम्बन्ध सिंहदरबारमा राम्रो भएकाले समाचार लिनका लागि अरूका तुलनामा सजिलो थियो। कोही नयाँ कर्मचारी वा सचिव आयो कि म गएर भेटिहाल्थँे। उनीहरूले रासस भनेपछि भेट पनि दिन्थे र माया पनि गर्थे। यसले गर्दा मलाई समाचारको स्रोतको विकास गर्नका लागि निकै ठूलो सघाउ पु¥याएको थियो।
राससमा एउटा के प्रावधान थियो भने सबैभन्दा बढी समाचार स¬ङ्कलन गर्नेलाई प्रत्येक तीन महिनामा रु १०० पुरस्कार दिने। त्यो पुरस्कार तीन वर्ष जति दिइयो, सबै मैले नै पाएँ। समाचार कति वटा भन्ने त हुँदैनथ्यो तर पनि दिनमा कम्तीमा तीनचार हुन्थ्यो। हरेक दिन एउटा समाचार भने लेख्नैपथ्र्यो, नत्र समाचारदातालाई अरू शाखाका कर्मचारी एवं सम्पादकले सिंत्तैमा तलब खायो भनेर कुरा काट्थे। त्यो अवस्था चाहिँ लाजमर्दो नै हुन्थ्यो। तर दिनमा एउटा खबर खोज्न भने निकै गाह्रो थियो।
त्यसबेला पत्रकारले सीमित सञ्चार माध्यमबाट काम गर्नुपथ्र्यो। सबैभन्दा सुविधायुक्त साधन भनेको बल्लबल्ल पाइने टेलिफोन हो, त्यही पनि सबै ठाउँमा हुँदैनथ्यो। उति बेला जिल्लाका समाचार लिनका लागि निकै गाह्रो थियो, सबै ठाउँमा टेलिफोन थिएन। निकै थोरै मात्र समाचार आवाबाट टिपिन्थ्यो। त्यसमा ३०० अक्षरभन्दा बढी टिप्न मिल्दैनथ्यो। त्यसैले धेरैजसो समाचार हुलाकबाटै आउँथे। मैले केही महिना कार्यालयका तर्फबाट पाएको ९० सिसीको मोटरसाइकलसम्म चढेको थिएँ। पछि चढ्न पनि छाडिदिएँ। प्रायः म खुट्टाले हिँडेरै सबैतिरको कार्यक्रम भ्याउँथेँ।
राससमा मेरो काम समाचार लेख्ने मात्र थिएन। सरकारले राससलाई पर्याप्त बजेट दिँदैनथ्यो। बजेट आएको भोलिपल्टदेखि मैले सिंहदरबारका सचिव एवं अर्थमन्त्रीकहाँ धाएर उनीहरूसँग बजेटका लागि कराउनुपथ्र्याे। म अर्थमन्त्रीहरू डा भेषबहादुर थापा, डा यादवप्रसाद पन्तकहाँ गएर “लौ न, हामीले तलब नखाने मन्त्रीज्यू” भन्थेँ। अनि पछि बजेट थपिन्थ्यो पनि। सरकारले हरेक वर्ष ल्याउने बजेट घोषणा हुँदा राससलाई थोरै नै विनियोजन गरिएको हुन्थ्यो। बजेट घोषणा भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर त्यसका बारेमा जानकारी गराइन्थ्योे। त्यस पत्रकार सम्मेलनमा म नै जाने गर्थें र मेरो एउटा प्रश्न हुन्थ्यो, राससलाई छुट्याइएको बजेट निकै अपुग छ भन्ने। रासस केन्द्रीय कार्यालय रहेको जग्गा र भवन बनाउनका लागि बजेट ल्याउन निकै मेहनत गरियो। मैले राससका विभिन्न स्थानका जग्गा मिलाउने काममा पनि धेरै सङ्घर्ष गरेको छु र मिलाएको पनि छु। त्यसैले मैले यसबाट लिएको मात्र छैन, केही दिएर पनि आएको छु जस्तो लाग्छ।
एक पटक मैले बजेट फलानो मितिमा आउँदैछ भन्ने समाचार दिएको थिएँ। त्यस समाचारले निकै हल्लीखल्ली भएछ। मलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि उठेछ तर पछि केही भएन। बजेटको अङ्क नदिए पनि यति मितिमा आउँछ भनेर भन्न पनि असजिलो अवस्था थियो।
राससमा झन्डै पौने २२ वर्ष जागिरका क्रममा राजासँगको भ्रमणमा २०३२ सालतिर युगोस्लाभिया, इरान, जोर्डन र भारतको भ्रमण गर्ने मौका मिलेको थियो। पछि चीन, रुस पनि भ्रमण गरियो। समाचार सङ्कलनका सिलसिलामा मैले स्वदेशका धेरै जिल्लाको भ्रमण गरेको छु। राजा वा प्रधानमन्त्रीको जिल्ला भ्रमण भए पनि समाचारका लागि केन्द्रबाटै समाचारदाता जान्थे र त्यसमा धेरैजसो म नै जानुपथ्र्याे। राससको इज्जत ठूलो थियो। कतिपय ठाउँमा त समाचारदाताहरूलाई मञ्चमा अतिथिको आसन गराएर भाषण नै गर्न लगाउँथे। कुनै पनि कार्यक्रममा रासस नपुगेसम्म अहिले टेलिभिजनलाई कुरेजस्तो गरी कार्यक्रम नै सुरु गर्दैनथे।
एक पटक संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त नेपाल आउँदा त्यससम्बन्धी समाचार लेख्नेमा म परेँ। उनले भनेको अङ्ग्रेजीलाई मैले पनि देवनागरीमा लेखेर ल्याएँ र कार्यालयमा आएर बनाइयो। आफूले नबुझेको समाचार नदिने भएकाले धेरै समस्या भने पर्दैनथ्यो। नेपालका प्रधानमन्त्री कीर्तिनिधि विष्ट चीनबाट फर्केर आएको समाचारका लागि म गएको थिएँ। पत्रकारको एक प्रश्नका जवाफमा उहाँले माओत्से तुङ नेपाल आउन चाहनुभएको छ ‘इफ पर्मिट द हेल्थ’ भन्नुभएको रहेछ। तर मैले भने पछिको अङ्ग्रेजी बुझिन र माओ नेपाल आउने भनेर समाचार दिएँ। विष्ट रेडियो नेपाल खुब सुन्नुहुन्थ्यो। दिउँसो समाचार सुनेपछि मलाई फोन गर्नुभयो र भन्नुभयो, “ए भैरव बाबु, मैले त स्वास्थ्यले साथ दियो भने मात्र आउन चाहनुभएको छ भनेको थिएँ नि त।” त्यसमा खासै धेरै आपत्ति नजनाएकाले त्यति समस्या भने परेन। पछि उहाँले मलाई अङ्ग्रेजी जान्दैन भन्ने थाहा पाएकाले नेपालीमै सबै कुरा भन्दिनुहुन्थ्यो। भारतका राष्ट्रपति डा सर्वपल्ली राधाकृष्ण, प्रधानमन्त्री मोरारजी देसाई नेपाल आउँदा उहाँहरूको समाचारका लागि मैले निकै दुःख पाएको छु।
अर्को एउटा विषय पनि रमाइलै छ। सञ्चार सचिव रामबहादुर रावल भएका बेला बजारमा चिनी, मट्टितेल, नुनको हाहाकार थियो। सचिव रावलले मलाई बोलाएर “यस्तो समस्या छैन” भनेर समाचार दिन भन्नुभयो तर मैले “तपाइँलाई ‘कोट’ गरेर दिन्छु नि त” भन्दा उहाँ रिसाउनुभयो।
समाचारदातामा नियुक्त भएको चार वर्षपछि म प्रमुख समाचारदाता भएँ। अब मलाई फसाद प¥यो। एक त अङ्ग्रेजी नजान्ने मान्छे, त्यसैमा पनि झन् ठूला एवं प्रमुख समाचारहरूमा जानुपर्ने भयो। विदेशीहरूका सहभागितामा हुने कार्यक्रमको समाचार लेख्नका लागि म जानुपर्ने तर अङ्ग्रेजी नआएकाले मैले देवनागरी लिपिमा ल्याउने र कार्यालयमा आएर नेपाली बनाउने जस्तो काम पनि गरेँ।
उस बेला दरबारको समाचारले निकै प्राथमिकता पाउँथ्यो। त्यहाँको समाचार लिनका लागि महाप्रबन्धक नै जान्थे। दरबारको समाचार बिग्रिएमा सम्पादक वा समाचारदाता कसैको पनि जागिर धरापमा पर्ने अवस्था थियो। राजाका विभिन्न समयमा हुने जिल्ला भ्रमणको समाचारका लागि प्रायः म नै जान्थेँ। यसै क्रममा राजा वीरेन्द्रले मलाई मन पराएछन् र २०३२ सालतिरको युगोस्लाभियाको भ्रमणमा मेरो नाम सिफारिस गरेछन्। धेरैले मलाई बधाई दिए पनि मेरा मनमा खुसी भने थिएन। स्वदेशमै अङ्ग्रेजी नजानेर कतिपय समाचार सङ्कलनमा दुःख पाइरहेको मलाई विदेशबाट समाचार कसरी पठाउने भन्ने समस्याले निकै ठूलो पिर थियो।
त्यो राससका अन्य साथीलाई त थाहा थियो। तर अरूलाई के थाहा ? म त मेरो नाम त्यो विदेश भ्रमणबाट काट्न लगाउने पक्षमा थिएँ। तर पनि पछि थाहा भयो ‘द राइजिङ नेपाल’ का सम्पादक पनि सो भ्रमणमा रहने भएकाले म उनको सहयोग पाउने आसले गएँ। भनेजस्तै नै भयो। उनका सहयोगले मैले पनि राम्रैसँग समाचार पठाउन सकेँ।
मलाई रासस साँघुरो भयो। मैले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएँ। रासस छाडेपछि देवेन्द्रराज पाण्डे अध्यक्ष भएको आइडीएस नामक संस्थामा गएँ। त्यस संस्थाबाट गाउँमा कृषिको क्षेत्रमा काम गरेँ। म पण्डितको छोरो, सुरुमा कुशको काम गरेँ। पछि कलमको काम गरेँ र त्यसपछि कोदालीको काम गरेँ। अहिले ती दिनहरु सम्झँदा निकै आनन्द लाग्छ। जे होस् रासस मेरो गुरु संस्था हो। मेरो परिचय यहीँबाट भएको छ। देशको एक मात्र समाचार समितिका रूपमा रहेको राससमा रहेर काम गर्दा त्यसले दिएको पहुँच र पहिचान नै मेरा लागि तथा राससमा लामो समयसम्म रहेर काम गर्नेहरूका लागि पनि निकै नै ठूलो सम्पत्ति हो।
(वरिष्ठ पत्रकार एवं राससका पूर्वप्रमुख समाचारदाता रिसालको यही चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको दुःखद घटनाबीच ‘रासस अनुभव र अनुभूति पुस्तक’बाट साभार गरिएको)


