काठमाडौँ- नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन्। जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत लिइन्छ।
नेवार समुदायमा ऋतुअनुसारको चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ। त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ। त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व। सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्।
वर्षातको बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो। साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो।
आजको दिन घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ।
यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ।


















