काठमाडौँ- नागरिकता विवादमा फेरि मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आक्रोशित बनेका छन्। शुक्रबार फेसबुकमा स्टाटस लेख्दै लामिछानेले सीमाबाहिर गएर आफूलाई इरिटेट गरिएको समेत टिप्पणी गरेका छन्।
‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ,’ आक्रोशको भाषामा लामिछानेले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।’
आफूले अमेरिकी नागरिकता त्याग गरेको निस्सा सर्वोच्च अदालतमा बुझाइसकेको उनको भनाइ छ। अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिँदा प्रक्रिया नपुगेको भन्दै अधिवक्ता युवराज सफलले मु्द्दा दायर गरेका थिए।
माघ १३ गते नागरिकताकै विवादमा लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो। त्यतिबेला उनी गृहमन्त्रीसमेत थिए। अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो।
त्यसलगत्तै लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए।
नयाँ नागरिकता लिएपछि लामिछाने वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट फेरि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनको नयाँ नागरिकता पनि अवैध भएको अधिवक्ता सफलको दाबी छ।


