काठमाडौँ- पश्चिम रूकुम जिल्ला बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
सानीभेरी-५ मेल्चोरबाट मुसिकोट जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको रुकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।
बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री छन्। सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन्।
सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई कोहलपुर लगिएको हो।
जिप चालक सानीभेरी–५ का दिपक बाठा मगर र सोही स्थानका मनिषा बस्नेत, रीता खत्री, कल्पना केसी, कर्णवीर पुन र कुसारीको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। दुर्घटनामा ३५ वर्षका चालक दीपक बाँठा मगर घाइते भएका छन्।
चालकले पानी परेको चिप्लो बाटोमा ब्रेक नलाग्दा दुर्घटना भएको भनेर प्रहरीलाई बताएका छन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


