काठमाडौँ- कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औँ पटक सगरमाथाको सफल आरोहण गरी काठमाडौँ फर्किएका छन्। आफ्नै रेकर्ड तोडेर बनाएको नयाँ रेकर्डको भारी लिएर उनी काठमाडौँ फर्किएका हुन्।
जेठ ३ गते २७औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका कामीरिताको रेकर्डसँग सोलुखुम्बु पाङ्बोचेका पासाङ दावा शेर्पाले सोमबार बराबरी गरिदिए। त्यसअघि नै पासाङले कीर्तिमानी बराबरी गर्ने सुईँको पाएका कामीरिताले साता नबित्दै दोस्रो पटक सगरमाथा आरोहण गरेर २८ औँ पटकको कीर्तिमान बनाएर काठमाडौँ फर्केका हुन्। बिहीबार फर्कँदा उनलाई काठमाडौँ विमानस्थलमा स्वागत गरिएको छ।
पासाङले सोमबार २७औँ पटक सगरमाथा आरोहण गरेर बनाएको बराबरी केही घण्टा नबित्दै कामीले आरोहण संख्या थपिहालेका हुन्।
सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंका अनुसार मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा २८औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। यही सिजनमा कामीरिताले दोस्रो पटक सगरमाथा आरोहण गरेका छन्।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा पहिलो पटक १३ मे १९९४ मा सगरमाथा चुचुरोमा पुगेका थिए। सन् २०१८ देखि कामीरिताले आफैँले बनाएका रेकर्ड तोड्दै आएका छन्।
खुम्बु पासाङल्हामु गाउपालिकाको थामेका ५३ वर्षीय कामीले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेका छन् भने ८ पटक चोयु, ३ पटक मनास्लु, ल्होत्स र केटु एकएक पटक गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल ४० पटक आरोहण गरेका हुन्।
शेर्पाले यसअघि तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए। शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।
काठमाडौँ फर्किएका कामीलाई स्वागत








