काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच हुने भनिएको वार्ता भाँडिएको छ।
वार्ताका लागि सिंहदरवार पुगेका शिक्षकहरू गेटबाट सिंहदरवार नै प्रवेश नगरी बाहिरिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आफूहरूलाई वार्तामा बोलाएपनि उनले आफूहरूको वार्ता टोली बनाइदिएको बताउँदै उनीहरुू सिंहदरवारभित्र प्रवेश नै नगरी गेटबाटै फर्किएका हुन्।
मन्त्रालयले सिंहदरवार प्रवेशका लागि सहजीकरण गरिदिन भन्दै २५ जनाको सूची बनाएको थियो। नेपाल शिक्षक महासंघले भने आफूहरूको वार्ता टोली मन्त्रीले बनाइदिएर आफूहरूको अवमूल्यन गरेको आरोप लगाएर वार्ता बहिस्कार गरेर फर्केकाे हाे।
‘मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं। तर मन्त्रालय प्रवेश नगरी फर्कियौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।
सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि आजको वार्ता भाँडिएको उनको भनाइ छ।
‘वार्ताको लागि त सरकारले लिस्ट बनाउने हाेइन नि! हामी काे काे वार्तामा आउन चाहन्छाैं त्यही अनुसार बनाउँछाैँ,’ उनले भने।
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए। मन्त्री पन्तले कानुन र बजेटले भ्याउनेसम्मको माग पूरा गर्ने बताएका थिए।
‘सरकार वार्ता र संवादको माध्यमबाट अहिले देखिएको समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर आउन आग्रह गर्दछु,’ उनले भने, ‘ऐन कानुनको सिमा र बजेटले धान्ने सिमाभित्र रहेर समाधान खोज्न तयार छौँ।’
यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिनभित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो।
शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन्।
भिडियो


