काठमाडौँ– सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ।
थापाविरुद्ध पेस भएको अदालतको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू,’ सर्वोच्चले थापाका नाममा आदेश जारी गर्दै भनेको छ।
न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको सर्वोच्च थापालाई सम्झाएको छ।
केही दिनअघि कांग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईंटेललगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।


