काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको जिकिर गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गरेका हुन्।
आफ्नो पार्टीलाई लाखौँको सङ्ख्यामा सहकारी संगठनमा आबद्ध व्यक्ति, एनजीओ, आइएनजीओमा संलग्न व्यक्तिहरूको साथ रहेको बताए।
‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छु: हाम्रा साथीहरू लाखौँको सङ्ख्यामा सहकारी संगठनमा आबद्ध छन्। एनजिओ, आईएनजीओमा संलग्न छन्। तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन। सजिलै गरी अरूलाई हामीले उछिन्ने थियौँ। हामीसँग जनताको मतको कमी छैन,’ नेपालको जिकिर छ, ‘अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ। कालिकोट पुगेर आएँ। रासकोटमा पुगेर आएँ। हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवेशनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ। रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ। अनि मैले भनेँ: तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ। यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो। अरू पार्टी भन्दा शक्तिशाली बनाउने हो।’
अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरू फेरि पनि मिल्न जरुरी रहेको बताए। उनले कम्युनिस्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गरे। आफ्नो पार्टी चुप लागेर बस्ने नभई गतिशीलता, क्रियाशीलतामा विश्वास गर्ने पार्टी भएको उनको भनाई थियो।


