काठमाडौ- काठमाडौ उपत्यकामा दैनिक करिब ४० लाख मानिसले फुटपाथमा पैदल यात्रा गर्ने आकलन छ। तर यति धेरै मानिसहरू हिँडडुल गर्ने फुटपाथमा भने सरकारी निकाय नै एम्बुस थाप्ने प्रतिस्पर्धामा छन्।
भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित बनाइएका छन्। पुराना त भइगए, नयाँ बनाइएका सडकमा पनि दृष्टिविहीनले पनि सडक प्रयोग गर्छन् भन्ने चेत आएकै छैन। फुटपाथमा हिँड्न पाइलापाइलामा अवरोध छन्। अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन।
नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ। प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ। यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ। साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ। तर फुटपाथ अतिक्रमण गर्ने सरकारी निकाय नै हुन्। अरुले अतिक्रमण गरे डण्डा लगाउने सरकार आफैँले अतिक्रमण गर्दा कसले प्रश्न गरोस्?


