टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)को १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार (मे ४)मा संस्थाको सभाहलमा सम्पन्न साधारणसभाले विदुर खतिवडाको अध्यक्षतामा रहेको कार्यसमिति विघटन गर्दै १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
साधारणसभाले राजेश्वर निरौलाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ। बोधराज घिमिरे, नारायण न्यौपाने, अमृत मिश्र, ओम भट्टराई, रूपा प्रधान, सन्ध्या गौतम, गोपाल सुवेदी, विष्णु सुवेदी, प्रिन्स भट्ट, विनोद शाह, मोहन कुसारी, प्रभु पौडेल, शान्ति यादव, नवीन केसी र मणि थापा तदर्थ समितिमा सदस्य छन्। यही समितिले सञ्चालक समितिको पनि जिम्मेवारी पाएको ग्यान्स सदस्य तथा विधान संशोधन समिति सदस्य सामना देवकोटाले बताइन्।
समितिले आगामी कार्ययोजना तय गर्दै संस्थालाई पुनः सशक्त बनाउने जिम्मा पाएको छ। संस्थाको विधान संशोधन गर्न विनोद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै दिपक हुमागाईंको संयोजकत्वमा निर्वाचन समिति बनाइएको छ। विधान संशोधन समितिमा देवकोटा र अजय बस्नेत सदस्य छन् भने निर्वाचन समितिमा कौशल यादव छन्। नवगठित कार्यसमिति र समितिहरूले ६ महिनामा निर्वाचन गराउने जिम्मेवारी पाएका छन्।
यसअघिको खतिवडा कार्यसमितिले आन्तरिक लेखा परीक्षणमा आर्थिक विवरण स्पष्ट रूपमा प्रस्तुत गर्न नसकेको, आमसहमतिमा नयाँ विधान ल्याउने प्रतिबद्धता पुरा नगरेको, संगठनमा बढ्दो विवाद समाधान गर्न असफल भएको आरोप लागेपछि विघटन गरिएको हो।
खतिवडा समितिका तर्फबाट प्रस्तुत गरिएको विधानलाई साधारणसभाले अस्वीकृत गरेको थियो। सभामा उपस्थित सदस्यहरुले सो विधान आम नेपाली समुदायलाई समेट्न असमर्थ, योग्य व्यक्तिलाई समिति प्रवेशमा रोक लगाउने खालको रहेको, र ट्रस्टी सदस्यद्वारा निर्वाचित कोषाध्यक्षलाई समेत कार्य गर्न अवरोध गरिने प्रावधान रहेको भन्दै विरोध जनाएका थिए। त्यस्तै, प्रस्तुत आर्थिक विवरण पनि पारदर्शी नभएको भन्दै सभाले अस्वीकार गरेको हो।
सभामा संस्थापक अध्यक्ष नवीन दाहालले प्रस्तावित विधानले संस्थालाई सशक्त बनाउन बाधा गर्ने बताएका थिए। संस्थापक महासचिव मदन शिवाकोटीले प्रस्तावित विधानमा अस्पष्टता र अनावश्यक विषयहरु रहेको बताए। ट्रस्टी सदस्य उद्धव खनालले नेतृत्व विफल भएको दाबी गर्दै विधान असफल भएको बताएका थिए।


