इस्लामावाद/नयाँ दिल्ली- आणविक हतियार भएका छिमेकी मुलुक भारत र पाकिस्तानले शनिबार ५ बजे (भारतीय समय)देखि लागू हुने गरी युद्धविराममा सहमति जनाएका थिए। अमेरिकी दबाब र ४ दिनको लडाइँपछि युद्धविराम गर्ने सहमति भएको थियो। यसको घोषणा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै लगानी रहेको सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’मा गरेका थिए। तर केही घण्टामै सीमावर्ती क्षेत्रमा विस्फोटका आवाज सुनिए। भारतले पाकिस्तानमाथि सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ।
धेरैजसो लडाइँको केन्द्र रहेको जम्मू र कश्मीरमा गोलाबारी र आक्रमणकारी ड्रोनहरू देखिए। अघिल्लो साँझजस्तै ब्ल्याकआउट गरिएका सहरहरूमा हवाइ प्रतिरक्षा प्रणालीबाट विस्फोटहरू सुनिएको अधिकारीहरू, स्थानीय बासिन्दा र पत्रकारहरूले उल्लेख गरेको रोयटर्समा समाचार छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले दुई देशले यसअघि गरेको समझदारीको उल्लंघन पाकिस्तानले गरेको आरोप लगाउँदै र आफूहरुले जवाफी कारवाही गरेको उल्लेख गरेका छन्।
‘परिस्थितिलाई गम्भीरता र जिम्मेवारीका साथ समाधान गर्न उपयुक्त कदम चाल्न हामी पाकिस्तानलाई आह्वान गर्छौं,’ शनिवार सम्झौता भएको भनेका भारतीय विदेश सचिव मिस्रीले केही घण्टापछिको मिडिया ब्रिफिङमा भनेका छन्। जवाफमा, पाकिस्तानको विदेश मन्त्रालयले देश युद्धविरामप्रति प्रतिबद्ध भएको दाबी गरेको छ। उसले युद्धविरामको उल्लंघनमा भारतलाई दोषारोपण गरेको छ। ‘हाम्रा सेनाहरूले जिम्मेवारी र संयमताका साथ परिस्थितिलाई सम्हाल्दैछन्,’ पाकिस्तानको दाबी छ।
युद्धका दौरान पाकिस्तानी सेनाले आणविक हतियारहरूसम्बन्धी बैठक हुने बताएपछि आणविक हतियारहरू प्रयोगमा आउन सक्ने त्रास फैलिएको थियो। पाकिस्तानका रक्षामन्त्रीले भने त्यसको खण्डन गरेका छन्।
बुधबार भारतले पाकिस्तानी कश्मीरमा रहेको ‘आतंकवादी संरचना’ माथि आक्रमण गरेको दाबी गरेको छ। दुई साताअघि भारतीय कश्मीरमा हिन्दू पर्यटकहरूमाथि भएको हमला गरी २६ जनाको हत्या गरेपछि भारत-पाकिस्तान युद्धको चरणमा छन्। शनिवार भएको भनिएको युद्धिवराम समझदारीपछि पनि क्रस-बोर्डर गोला बर्साबर्सी, ड्रोन र मिसाइल आक्रमणहरू लगातार भइरहे।
युद्धविराम भएपनि भारतले घोषणा गरेका प्रतिबन्ध; व्यापार रोक्का, भिसा रद्दलगायतका कदम तत्कालका लागि कायम नै रहने भारतीय स्रोतहरूले बताएका छन्। सन् १९६० को सिंधु जल सम्झौता पनि हाललाई निलम्बनमै रहनेछ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोका अनुसार दुवै देशबीच ४८ घण्टासम्म संवाद गरेपछि युद्धविरामको घोषणा गराउन सफल भएको लेखेका थिए। रुबियोले दुवै देशले तटस्थस्थलमा विस्तृत विषयमा वार्ता सुरु गर्ने सहमति पनि बताएका थिए।
सीमा दुवै पक्षमा युद्धविरामको समाचारलाई राहतका रूपमा स्वागत गरियो। पाकिस्तानको विमान प्राधिकरणले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा खोलिएको बताएको थियो। तर त्यसपछि भएका उल्लंघनहरूले फेरि चिन्ता पैदा गरेको छ।
भारतीय कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले विस्फोट भइरहेकाले युद्धविराम कार्यान्वयन नभएको उल्लेख गरेका छन्।
भारत र पाकिस्तान सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएसँगै कश्मीर विवादमा छ। कश्मीरमा दुवै देशले शासन गर्छन् र पूरै भूभाग आफ्नो देशको भएको दावी गर्छन्। भारत-पाक तीनपटक युद्ध युद्धमा जाँदा दुईपटक कश्मीरकै कारण भएको छ। –रोयटर्समा आधारित


