काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेतालाई आममाफी दिन र नागरिकता विधेयक राष्ट्रपतिबाट जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन्।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। रेशम चौधरीलाई आममाफी दिन गृह मन्त्रालय हुँदै शीतलनिवास पुगेको फाइल राष्ट्रपति रामचन्द्र पौडेलले थप कानुनी प्रक्रिया मिलाएर ल्याउने गृहमै फिर्ता गरिदिएका छन्। सम्भवतः राजनीतिक आवरणमा टीकापुर घटनाका अभियुक्त रेशम गणतन्त्रकै दिन भोलि छुट्नेछन्।
बाबुरामहरुले हत्या–हिंसा गरेर प्रधानमन्त्री, मन्त्रीजस्ता राजकीय पद पाएकाले टीकापुर घटनालाई पनि राजनीतिक रङ दिइरहेका छन्।
भट्टराईले ट्वीट गर्दै चौधरीलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसद्बाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताएका हुन्। ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं,’ भट्टराईले लेखेका छन्।


