काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहने क्षमता राख्नुपर्ने बताएकाछन। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ। प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सह्रानीय रहेको उनले उल्लेख गरेका थिए।
‘प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ,’ सभापति देउवाले भने। लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताए। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताएका थिए।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाललगायतले लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा श्रमजीवी पत्रकारले कलम चलाउनुपर्ने बताएका थिए।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धिकरण गर्दै संस्थागत ढङ्गले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताएका थिए। युनियनका उपाध्यक्ष नकुल अर्यालले लोकतन्त्रप्रति प्रतिबद्ध नेपाल प्रेस युनियनलाई पार्टीको महाधिवेशन प्रतिनिधि बनाउने चलनको अन्त्य हुनुपर्ने धारणा राखे।
विसं २०४८ जेठ १३ गते स्थापना भएको नेपाल प्रेस युनियनले २०८० साललाई ‘प्रशिक्षण वर्ष’का रुपमा अगाडि बढाउन लागेको महासचिव दिलीप पौडेलले जानकारी दिए।


