काठमाडौँ- नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार एकसाथ विज्ञप्ति जारी गर्दै प्रचण्डले जेठ १७ गतेदेखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन्। त्यस्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारतमा हुने भनेको छ। दाहाल मध्य प्रदेशको इन्दोर र उज्जैन पनि जाने बताइएको छ।
‘पछिल्ला केही वर्षमा दुई देशबीच सहकार्यका सबै क्षेत्रमा महत्त्वपूर्ण रूपमा सम्बन्ध मजबुत भएको छ,’ भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ।


