काठमाडौँ- नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएपछि कांग्रेसका दुई पक्षबीच आरोपप्रत्यारोप चर्किएको छ।
कांग्रेस लमजुङका वर्तमान जिल्ला सभापतिसमेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ पक्षधर र पूर्वसभापतिसमेत रहेका गण्डकी सरकारकै वनमन्त्री भेषबहादुर पौडेल पक्षधरहरू शनिवार भएको खुकुरी र रड प्रहारको विषयमा एक अर्कालाई आरोप थोपर्न थालेका हुन्।
‘खुकुरी रडजस्ता हातहतियारसहित उद्घाटन समारोहमा सहभागी अधिवेशन प्रतिनिधिहरुमाथि आक्रमण गरेकोप्रति घोर भर्त्सना गर्दछु,’ तरुण दलका लमजुङका कार्यवाहक अध्यक्ष कुमरासी गुरुङ (भुपेश)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशनस्थलमा प्रतिनिधिहरुमाथि आक्रमण गर्ने अराजक समूहलाई तुरुन्त आवश्यक कानुनी कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछु।’ भूपेश डा टकराज निकट छन्।
अधिवेशनस्थलमा नै प्रतिनिधिहरूमाथि आक्रमण गर्ने समूहलाई गुरुङ समूहले अराजक र उच्छृङ्खलको उच्शृंखलको संज्ञा दिएको छ। उक्त समूहलाई आफ्नो समूहले खुकुरी र रडजस्ता हातहतियार खोसी अधिवेशनस्थलबाट धपाएको समेत विज्ञप्तिमा भनिएको छ।
पौडेल समूहका हरिप्रसाद बरालको नेतृत्वमा खुशीजंग गुरुङ, सुदीप अधिकारी, सुमन बसौला, किशोरकुमार बस्नेत, विशाल अधिकारी र गर्जबहादुर गुरुङलगायतले आक्रमण गरेको भूपेशक विज्ञप्तिमा उल्लेख छ। शनिबार नेपाल तरुण दल लमजुङको बेसीशहर नगरपालिका-८ प्रगतिटोल जिल्ला अधिवेशन उद्घाटन समारोहमा आक्रमण भएको थियो। दिउँसो २ बजेर ५ मिनेटमा दुवै समूहबीच झडप भएको थियो।
उता पौडेल पक्षले भने गुरुङको समूहले आफूहरूमाथि आक्रमण गरेको आरोप लगाएको छ। गुरुङ पक्षको कार्यशैलीको विरोध गर्नेहरूलाई अधिवेशनस्थलबाट बाहिर निकालिएको र कार्यक्रमस्थलको गेट पुग्दानपुग्दै आफूहरूमाथि खुकुरी प्रहार भएको पौडेल पक्षका प्रदीपजंग बस्नेतको भनाइ छ। प्रतिनिधि छनोटमा रोक लगाइएको भन्दै पौडेल समूहले गुरुङ समूहको विरोध गरेपछि विवाद सुरु भएको थियो।
लमजुङ कांग्रेसमा पौडेल र गुरुङ पक्षधरबीच वैमनश्यता छ। संस्थापन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार गरिएको पौडेल पक्षधरको आरोप छ। घाइतेहरू सबै संस्थापनइतर भेषबहादुर समूहका हुन्।
तरुण दल लमजुङ अध्यक्षका आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध चर्काएको थियो। उनीहरूले गुरुङविरुद्ध नाराबाजीसमेत गरेका थिए। यसपछि गुरुङ पक्षले पौडेल पक्षका उनीहरूलाई हलबाहिर निकालेको थियो।
खुकुरी प्रहारबाट घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ र नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत छन्। यस्तै, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिएका छन्। घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमीलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ।
लमजुङ कांग्रेसका सभापतिमसेत रहेका आर्थिक मामिलामन्त्री डा. टकराजले भने घटनालाई सामान्यीकरण गर्न खोजेका छन्। कांग्रेस लमजुङका निवर्तमान सभापतिसमेत रहेका भेषबहादुरले सभापति तथा अर्थमन्त्री डा. टकराजको अकर्मण्यताले घटना भएको आरोप लगाएका छन्। दुवै पक्षबीच विवाद समाधानको प्रयास भएको छैन।
जिल्लाका हरेक भातृसंगठन कब्जा गर्न खोजेको र अधिवेशनको वातावरण हिंसात्मक बनाउने उद्योग हालका सभापति डा. गुरुङ पक्षधरले गरेको पौडेल समूहको आरोप छ। अघिल्लो जिल्ला अधिवेशनमा डा. टकराज भेषबहादुरसँग पराजित भएका थिए। १४औं महाधिवेशनमा डा. गुरुङले भेषबहादुर समूहका गमप्रसाद गुरुङलाई हराएका थिए।
कांग्रेस केन्द्रमा गुरुङ सभापति शेरबहादुर देउवा पक्षधर भनेर चिनिन्छन्। पौडेललाई मन्त्री बनाउन महामन्त्री गगन थापाले प्रयास गरेका थिए।
खुकुरी प्रहारपछि अधिवेशन स्थगन गरिएको छ।


