काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ। सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रम ध्वनिमतबाट पारित भएको घोषणा गरेका हुन्।
संसोधनका लागि प्रस्तुत भएका सबै प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए।
यसअघि पशुपतिको जलहरीमा भ्रष्टाचार भएको विषय सत्तापक्षका सांसद जेठ १० गते लेखनाथ दाहालले उठाएपछि एमालेले विरोध गरी शुक्रबार सदन चल्न दिएको थिएन। सत्तापक्षका सांसदले उक्त भनाइ फिर्ता लिएर संसदको अभिलेखबाट हटाउन पर्ने माग गर्दै एमालेले शुक्रबारको बैठक अवरोध गरेको थियो। त्यसपछि शुक्रबारै बैठक सुरु गर्ने प्रयास भएपनि सफल भएको थिएन।
शनिबार बिहान कांग्रेस, माओवादी र एमालेको बैठकले संसदको अभिलेखबाट हटाउन सहमत भएपछि दिउँसो ४ बजेका लागि तय भएको बैठक केही ढिला गरी सुरु भएको थियो।
शनिबार दिउँसो बैठक सुरु भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरीका विषयमा प्रमुख प्रतिपक्षका नेतालाई जोडेर विचार व्यक्त गर्ने उचित नहुने बताएका थिए। यस्ता विषयमा रेकर्डबाट हटाउने प्रचलन पनि रहेको उनले बताएका थिए।
‘जलहरीका विषयमा प्रमुख प्रतिपक्षका नेतालाई जोडेर विचार व्यक्त गर्ने उचित होइन। यस्ता विषय रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ,’ प्रचण्डले भनेका थिए।
‘श्रीपशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनमा चर्चा उठेको छ। पशुपति मन्दिरको क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको हो। सोही संस्थाले काम गरेको विषयमा विवाद छैन,’ उनले भने, ‘यस विषयबारे अख्तियारले अनुसन्धान गरिरहेको छ। यस विषयमा आयोगले निष्पक्ष छानबिनमा सहयोग गर्नेछ।
यसपछि सभामुख देवराज घिमिरेले उक्त भनाइ संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका थिए।
यसपछि प्रतिनिधि सभा बैठक सञ्चालन भयो। आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पारित पनि गरेको छ। यसअघि प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नका विषयमा जवाफ दिएका थिए।
प्रतिनिधि सभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।


