काठमाडौँ- नेपाल भलिबल संघले काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। मे २० देखि २९ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन्। सेन्ट्रले जोन पुरुष भलिबल च्याम्पियनसिपपछि नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता समेत हो।
प्रतियोगिताको लोगो पनि पत्रकार सम्मेलनमा नै सार्वजनिक गरिएको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङले लोगो सार्वजनिक गरेका हुन्।
सदस्य–सचिव घिसिङले प्रतियोगिताका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने बताए। कभर्डहल मर्मतको सम्पूर्ण खर्च पनि राखेपले व्यवस्थापन गर्ने उनको भनाइ थियो।


