काठमाडौँ- रौतहटमा इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिएका दुई न्यायाधीशहरूविरूद्ध उजुरी परेको छ।
अधिवक्ता युवराज सफलले शुक्रवार न्याय परिषदमा उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध उजुरी दिएका हुन्।
गत बुधबार न्यायाधीशहरू थारू र महर्जनको इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो।
आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका थिए।
जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्मकैदको फैला गरेको थियो।
जिल्ला अदालत रौतहटले देखाएका आधारलाई बेवास्ता गरी फैसला गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखिएको बताइएको छ।


