काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब लाभांश प्राप्त गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभामा पेस गरेको सार्वजनिक संस्थानको समीक्षा प्रतिवेदनले यस्तो देखाएको हो।
‘नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू. ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ,’ समीक्षा प्रतिवेदनमा उल्लेख छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रू. १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेकोसमेत उल्लेख गरेको छ।
यस्तो छ संस्थानको समग्र स्थिति
विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट आर्थिक वर्ष २०७८/७९ मा पनि समग्र अर्थतन्त्र प्रभावित रह्यो। युक्रेनमा भएको युद्धको कारण अर्थतन्त्रमा प्रत्यक्ष एवम् परोक्ष प्रभाव पर्न गयो। यसबाट सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको अवस्था छ।
आर्थिक वर्ष २०७७/७८ मा संस्थानको कुल सञ्चालन आय रू. ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा आर्थिक वर्ष २०७८ / ७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ। गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४.१५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा रू. १ अर्ब ५४ करोड २० लाख कायम भएको छ। नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू. ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।
आर्थिक वर्ष २०७८/७९ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रू. १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ। सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १७६.८ प्रतिशतले बढी रू. ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ। सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई रू. ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ।
आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा ब्यहोरेका छन्। दुईवटा संस्थानको कारोबार शून्य रहेको छ।यस आर्थिक वर्षमा पनि जनकपुर चुरोट कारखाना लि. बन्द छ भने विद्युत उत्पादन कम्पनी लि. र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा नै रहेको छ।नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाईट प्रा. लि. र बुटवल धागो कारखाना लि. को व्यावसायिक कारोबार नभएको अवस्था छ।
नेपाल रेल्वे कम्पनी लि.ले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन। व्यावसायिक कारोबार नभएपनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी व्यहोरिरहेका छन्। आर्थिक वर्ष २०७८/७९ मा नाफामा सञ्चालित २५ संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीकोष / नेटवर्थ गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले वृद्धि भई रू. ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले वृद्धि भई रू. ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको छ। गत आर्थिक वर्षको तुलनामा शेयर लगानी ४.५४ प्रतिशतले वृद्धि भई रू. ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ।
आर्थिक वर्ष २०७८/७९ मा कोषमा व्यवस्था नभएको दायित्वमा गत आर्थिक वर्षको तुलनामा २०.२६ प्रतिशतले कमी आएको छ भने सम्भावित दायित्व पनि ७४.८२ प्रतिशतले कम भएको छ। हालसम्म छ वटा सार्वजनिक संस्थान नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत भई अघिल्लो आर्थिक वर्षको तुलनामा बजार पुँजीकरण २८.८० प्रतिशतले कमी आएको छ।
शेयर बजारमा आएको उतारचढावले गर्दा सूचीकृत सार्वजनिक संस्थानको शेयरको बजार मूल्यमा प्रभाव परेकोले यस्तो हुन गएको देखिन्छ। केही संस्थानको नियमित रूपमा लेखा परीक्षण हुन नसकेकोले वित्तीय अवस्थाको यथार्थ मूल्याङ्कन हुन नसक्नुका साथै वित्तीय अनुशासनको पक्ष पनि कमजोर रहेको छ। सबै संस्थानमा तोकिएको समयमा नै लेखा परीक्षण गर्न प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई जिम्मेवार बनाउने र सोही आधारमा निजहरु लाई निरन्तरता दिने नदिने निर्णय हुनुपर्ने देखिन्छ। हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वित्तीय स्थिति निम्नानुसार तालिका १.१ र १.२ मा रहेको छः


