काठमाडौँ- काठमाडौँ डन बोस्को कलेज नेपाल र अस्ट्रियास्थित एप्लाइड साइन्स कलेज आइएमसी विश्वविद्यालयबीच अनुसन्धान र अध्ययनमा साझेदारी गर्नेसम्बन्धी सम्झौता भएको छ। हालै भएको सम्झौतापत्रमा आइएमसी विश्वविद्यालयका प्राध्यापक हेन्ज बोयर र डन बोस्कोका निर्देशक कपिलदेव रेग्मीले हस्ताक्षर गरेका छन्।
शैक्षिक र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने, शिक्षक र विद्यार्थी गतिशीलतालाई सहजीकरण गर्ने र सहकार्यमा आधारित अनुसन्धानात्मक योजनाहरूलाई प्रवर्धन गर्ने सम्झौताको लक्ष्य छ।
समारोहमा बोल्दै प्राध्यापक बोयरले विद्यार्थीहरू आदानप्रदान गर्नका लागि नेपाली संस्थाहरूसँग सहकार्य निर्माण गर्न र दुई देशबीच सिकाइका अवसर अन्वेषण तथा उपयोग गर्न अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।
डन बोस्कोका रेग्मीले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धताकाका साथै शैक्षिक उत्कृष्टता र अनुसन्धानका लागि प्रतिष्ठित संस्थासँग समन्वय गरिएको बताए।


