काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाउँदै १७ बल बाँकी छँदै लक्ष्य भेटायो।
पहिला ब्याटिङ गर्दा नेदरल्यान्ड्सका लागि नोहा कोर्सले सर्वाधिक ४८ रन बनाए। उनले ५५ बलमा ५ चौका प्रहार गरे। कप्तान स्कट एडवार्ड्सले ७१ बलमा ४ चौकासहित ४६ रन जोडे। त्यस्तै, विक्रमजित सिंहले ३८ रन र ज्याक लायनले ३४ बलमा २७ रन बनाए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ठूलो स्कोर बनाउनबाट रोके।
सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे।
नेपालको जवाफी ब्याटिङमा आरिफ शेखले शानदार प्रदर्शन गर्दै ९९ बलमा ७ चौका र २ छक्कासहित ७८ रन बनाए। उनको यो इनिङ्स नेपालको जितको आधार बन्यो। दीपेन्द्र सिंह ऐरीले अविजित ३८ रन (५१ बल, ३ चौका) जोड्दा गुल्सन झाले मात्र ४ बलमा ११ रन (१ चौका, १ छक्का) बनाएर टोलीलाई जिततर्फ डोर्याए।
कुशल भुर्तेलले २५ रन (४२ बल, ३ चौका), रोहित पौडेलले २३ रन (३९ बल, १ चौका) र आशिफ शेखले १९ रन (२२ बल, ३ चौका) योगदान दिए। भीम शार्कीले ११ रन बनाए। नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए भने भिभियन किंग्मा र पल भान मिकेरेनले १-१ विकेट हात पारे।
रोलोफ भान डेर मर्वे र काइल क्लिनले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्।
