काठमाडौँ- पछिल्लो समय अमेरिकाले धमाधम नेपालीहरूलाई डिपोर्ट (देशनिकाला) गर्न थालेको छ। गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूलाई अमेरिकाले निकाला गर्न थालेको हो।
आइतवार एकैपटक कम्तीमा ३७ जना नेपालीलाई डिपोर्ट गरी काठमाडौँ अमेरिकी जहाजले काठमाडौँ ल्याइदिएको छ। अमेरिकाले यति धेरै संख्यामा नेपालीहरुलाई एकैपटक चार्टर विमानमा काठमाडौँ पठाएको यो पहिलो पटक हो।
डिपोर्टमा परेका अन्य केही नेपालीलाई पनि पठाउन लागिएको भएपनि अन्तिम समयमा उनीहरूको यात्रा रोकिएको थियो। अमेरिकी अधिकारीले नेपालको अध्यागमन विभागलाई ४८ जनालाई फिर्ता पठाउन लागिएको जानकारी गराएका थिए।
अमेरिकाबाट डिपोर्ट गरिएका केही नेपालीले बोरा मात्र बोकेका थिए भने केहीसँग कुनै पनि सामग्री थिएन। आइतबार मध्यराति बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका उनीहरू निकै हताश देखिन्थे। अमेरिकाले आइतवार पठाएकामध्ये ३२ पुरुष र ५ महिला छन्।
नेपाल फर्काइएका ३७ मध्ये ३५ जना अवैध तरिकाले अमेरिका प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मानव बेचबिखन ब्युरोका अनुसार एक जना चाहिँ डीभी परेर अमेरिका पुगेका थिए भने अर्का एक जना अध्ययन गर्न अमेरिका पुगेका थिए।
अवैध बाटो (डंकी रूट)बाट गएकाहरू विभिन्न देशहुँदै दक्षिण अमेरिका महादेशको पनामा जङ्गल छिचोलेर मेक्सिकोको बोर्डर पार गरी अमेरिका प्रवेश गरेकाहरू हुन्। यसरी अवैध बाटोबाट अमेरिका पुगेकाहरू ‘शरणार्थी’को हैसियतका संघर्ष गर्छन्। तर सबैलाई शरणार्थीको हैसियत पाउन पनि सजिलो हुँदैन। यसको प्रक्रिया पनि सबैका लागि छोटो नहुन सक्छ। अहिले फर्किएकाहरू पनि शरणार्थीको हैसियत नपुग्दै अमेरिकाबाट देशनिकालामा परेकाहरू हुन्। उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरी थुनामा राखेर पठाइदिएको बताइएको छ।
डंकी रूटबाट अमेरिका पुग्नका लागि उनीहरूले ठूलो रकम खर्चिएका थिए। तर यकिन विवरण र बिचौलियाका विषयमा पनि उनीहरूले खुलेर बताउँदैनन्।
यसअघि २१ फाल्गुन २०८१ मा पनि अमेरिकाले विमान चार्टर्ड गरेर ८ जना नेपालीलाई काठमाडौँ ल्याएर छोडिदिएको थियो। यी ८ मध्ये एक महिला थिइन्।
ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि हालसम्म कम्तीमा १४० जना नेपाली डिपोर्ट भएका छन्। मे महिनामा मात्र ५८ जनालाई डिपोर्ट गरिएको छ। उनीहरू सबै पुरुष थिए। यस्तै अघिल्लो महिना अप्रिलमा २६ जना नेपाली डिपोर्टमा परेका थिए। मार्च महिनामा ३० जना नेपाली डिपोर्ट भए। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। ट्रम्पले अमेरिकी सत्ता सम्हालेको पहिलो महिना जनवरीमा नै ६ जना नेपाली डिपोर्टमा परे।
यसअघि जो बाइडेनकालमा पनि अमेरिकाले नेपालीहरूलाई डिपोर्ट गर्ने गरेको थियो। तर उनीहरूलाई यसरी विमानमा हालेर काठमाडौँ ल्याउने अभ्यास भने थिएन। त्यसबेला डिपोर्ट भएका नेपालीहरू व्यावसायिक विमानबाट फर्कने गरेका थिए। तर ट्रम्प प्रशासनमा विमानले नै सम्बन्धित देशमा ल्याइदिएर छोड्ने क्रम तीव्र रूपले बढेको छ। सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२३ मा २४ जना, सन् २०२२ मा २२ जना र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ।
अमेरिकाबाट फिर्ता पठाइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि अध्यागमन कार्यालयले नियन्त्रणमा लिने गरेको छ। यसपछि उनीहरूले प्रहरीको मानव बेचबिखन ब्युरोलाई बुझाउँछन्। ब्युरोले सामान्य सोधपुछ गरी छोड्ने गरेको छ। यी व्यक्तिहरूले मानव तस्करहरूको सहयोगमा अमेरिका प्रवेश गरेको हुन सक्ने आशङ्कामा अनुसन्धान हुन्छ भनिएपनि त्यस्तो गिरोहको शल्यक्रिया गर्न ब्युरो विफल बनिरहेको छ।
कस्ता व्यक्ति हुन्छन् डिपोर्ट?
अमेरिकाले अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने गरेको छ। कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ। लाखौँ खर्च गरी ‘डंकी रूट’मार्फत महिनौँ लगाएर अमेरिका प्रवेश गर्नेहरूसँग भिसालगायतका कागजात हुँदैनन्। यसरी अवैध माध्यमबाट अमेरिका पुग्नेहरू डिपोर्ट हुने गरेका छन्। मानव तस्करीका गिरोहहरूलाई चर्को रकम बुझाएर अमेरिका पुग्ने नेपालीको संख्या उल्लेख्य छ। नेपालबाट मात्र होइन, भारत, पाकिस्तानलगायतका देशबाट पनि अवैध रूपमा अमेरिका जान चाहनेको संख्या उल्लेख्य छ। आइतवार नेपाल फर्काइएकामध्ये १ जनासँग मात्र राहदानी भएको खुलेको छ।
नेपालबाट हरेक महिना एक हजारभन्दा बढी नेपाली अवैध रुपमा अमेरिका पुग्ने गरेको बताइन्छ। तर यसको यकिन तथ्यांक कसैसँग छैन। अवैध रूपमा अमेरिका जान डंकी रूटमा महिनौं हिड्नुपर्छ्। नेपालीहरु भारत हुँदै कोलम्बिया र पानामाको घना जंगलको बाटो काट्दै जोखिमपूर्ण यात्रा तय गरेर अमेरिका पुग्ने गरेका छन्। यसरी अवैध रूपमा अमेरिका जान चाहने व्यक्तिले दलालहरूलाई १ लाख डलरसम्म तिर्न राजी हुने गरेको अनुसन्धानबाट खुलेको पनि छ। डंकी रूटबाट अमेरिका जानेहरू मेक्सिको हुँदै भिसा बिना नै अमेरिका छिर्ने गर्छन्।

अवैध मार्ग हुँदै अमेरिका जाँदै गरेका नेपालीहरूको एक समूह क्याम्बोडियाको जंगलमा लुकेर बसेको अवस्थामा। उनीहरूले पाँच दिनसम्म केवल माछा मात्र खाएर ज्यान जोगाउनुपरेको थियो। यो तस्बिर कुन मितिमा लिइएको भन्ने खुल्न सकेको छैन।
फोटो सौजन्य: बहादुर पाइजा: माई रिपब्लिकामार्फत
यति मात्र होइन, विभिन्न कामका शिलशिलामा अमेरिका आएकाहरू पनि कागजात नमिलाई अमेरिकामा नै बस्ने गरेका छन्। उनीहरूको स्टाटस पनि अवैध आप्रवासीको बन्न पुगे डिपोर्ट हुने सम्भावना बढी हुन्छ।
अमेरिका नपुगेका व्यक्तिहरू पनि डिपोर्टमा पर्ने गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाकएको छ। अमेरिका जानका लागि भनेर यात्रामा निस्किएका कतिपय नेपाली पनामालगायतका देशमा पक्राउ पर्ने गरेका पनि छन्। उनीहरुलाई उतैबाट नेपाल डिपोर्ट गर्ने गरिएको पनि छ। यसरी डिपोर्ट हुने/भएका नेपालीहरूलाई पनि दूतावासले ट्राभल डकुमेन्ट बनाइदिने गरेको छ।
ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशन हुने समाचार पोर्टल नेपयोर्कले उल्लेख गरेको छ।
टीपीएस खारेजीको मार थपिँदै
अमेरिकाको आप्रवासन प्रणाली अन्तर्गत विशेष परिस्थितिमा टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा दिने गर्छ। तर विदेशी नागरिक तोकिएको मापदण्ड पूरा भने गर्नुपर्छ। सम्बन्धित व्यक्ति आफ्नो देश फर्कँदा उसलाई ‘ज्यानकै जोखिम छ’ भन्ने ठहर अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) का अधिकारीले गरे टीपीएस सुविधा दिन सक्छन्। यो सुविधा पाएको व्यक्तिले अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रामा जान समेत पाउने गर्छ।
१० वर्षे सशस्त्र द्वन्द्व र २०७२ वैशाखका भूकम्पका अमेरिकाले नेपाललाई टीपीएस सुविधा दिँदै आएको थियो। आन्तरिक युद्ध, बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य किसिमका गम्भीर मानवीय संकटमा परेका देशका नागरिकलाई यस्तो सुविधा अमेरिकाले प्रदान गर्दै आएको छ। तर नेपालमा भूकम्पपछिको पुनर्निर्माण पनि सकिएको र सशस्त्र द्वन्द्वको अवस्था पनि नरहेको मूल्यांकन गर्दै अमेरिकाले नेपालीलाई दिने टीपीएस सुविधा खारेज गर्ने निर्णय लिइसकेको छ।
आगामी अगस्ट ५ पछि सबै नेपालीको टीपीएस सुविधा खोसिनेछ। अब नेपालीलाई टीपीएस सुविधा नहुने भन्दै अमेरिकाको अध्यागमन विभागले स्वदेश फर्कने तयारी गर्न भनिसकेको छ। अध्यागमनले जुन ५ मा सूचना जारी गर्दै स्वदेश फर्कन ६० दिनको म्याद दिएको छ। अगस्ट ५ पछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
टीपीएस सुविधा स्थायी बसोवासको सुविधा होइन। डीएचएसले तोकेको निश्चित अवधि समाप्त हुँदा पनि सम्बन्धित व्यक्ति अमेरिकामा बस्ने योग्यता बनाउन नसके स्वदेश फर्किनुपर्ने भनिएकै पनि हुन्छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार २४ मार्च २०२५ सम्म ७ हजार ८ सय ७५ जना नेपाली टीपीएस सुविधामा छन्। हालसम्म १४ हजारभन्दा नेपालीले टीपीएस सुविधा लिएपनि धेरैले बसोबासको अन्य प्रबन्ध मिलाएको बताइएको छ। सन् २०१५ को जुन २४ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका तत्कालीन सेक्रेटरी जेह जोन्सनले अप्रिल २५, २०१५ मा नेपालमा गएको भूकम्पको परिणाम स्वरूप अमेरिकामा रहेका नेपालीहरूलाई टीपीएस प्रदान गरेका थिए।
अमेरिकाका राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएका छन्। अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय सोमवारदेखि कार्यान्वयनमा आउँदैछ।
कडा आप्रवासन नीति, टीपीएस खारेजी, अमेरिका प्रवेशमा प्रतिबन्धलगायतका ट्रम्प प्रशासनका नियन्त्रणमुखी प्रबन्धका कारण अमेरिका पुगेका नेपालीहरू प्रत्यक्ष मारमा परिरहेका छन्। विद्यार्थीहरूका विषयमा पनि ट्रम्प प्रशासन कठोर बन्दै आइरहेकाले अमेरिकाबाट नेपालमा डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्ने देखिएको छ।


