नेपालका ३ छिमेकी छन्। २ स्थल छिमेकी: भारत र चीन। र एउटा आकाशबाट जोडिएको छिमेकी देश। अमेरिका संसारका सबै देशको- आकाश छिमेकी हो। नेपालजस्तो भू-अवस्थिति भएको देशको त हुने नै भयो। भनिन्छ, भारत र चीनमा नजर राख्न नेपाल सबैभन्दा सस्तो ठाउँ हो।
अपवादबाहेक प्राय: नेपालीका लागि ( चाहे ऊ माओवादी होस् वा एमाले वा जेमाले वा कांग्रेस वा राजावादी वा घोर प्रगतिशील वा घोर लेफ्टमाण्डु वा अन्य जेसुकै …) अमेरिका भ्रमण वा निवासनको मौका ठूलो आकर्षण हो। यही आकर्षण र केही अन्य कुरा – अमेरिकाको सफ्ट पावरका स्रोत हुन्।
अमेरिकाले दिने प्रत्यक्ष अनुदान, सहयोग त छँदैछ, उसले बहुराष्ट्रिय एजेन्सीहरूमार्फत पनि आफ्नो शक्तिको महसुस बेलाबखतमा गराइरहेकै हुन्छ। राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु हुने बित्तिकै गरिएका निर्णय मध्ये एक- यूएसएआईडी बन्द गर्ने निर्णय पनि हो।
हामी अमेरिकी जनताको पैसाले चल्ने ख्यातिप्राप्त हबर्ट हम्फेरी छात्रवृतिमा पढेका हुनाले हाम्रो सानितिनो दायित्व बन्छ- आत्माका लागेको कुरा निर्भयसाथ भन्ने- अमेरिकी सरकार, त्यसका राजदूत, दूतावासलाई र सरोकारवाला सबैलाई।
म व्यक्तिगत रुपले राष्ट्रपति ट्रम्पको ठूलो समर्थक नभए पनि, पछिल्ला कतिपय वर्षदेखि उनको राजनैतिक उत्थानमा, उनले अमेरिकी जनताको बहुमत हिस्साबाट पाएको समर्थनको कारण बुझ्न सक्छु। म उनको विरोध गर्नेहरूलाई पनि बुझ्न सक्छु।
आफ्ना तमाम कमीकमजोरीका बाबजुद अमेरिकी लोकतन्त्रको सुन्दरता हेर्नुस् न! त्यहाँको एक धनी उघोगपति एलेन मस्क खुलेआम आफ्नो राष्ट्रपतिका नीतिको विरोध मात्र गरिरहेका छैनन्, निजी स्तरमा नै ओर्लिएर तथानाम भन्दैछन्। यति गरेर पनि मस्कलाई थुनिएको छैन, न उनका विरुद्ध कुनै सरकारी जाँच एजेन्सी लगाइएको छ- राष्ट्रपतिको विरोध गरेको भोलिपल्टदेखी। न उनी भयातुर देखिन्छन्।
के हामी नेपालमा- कुनै नामी उघोगी व्यापारीले खुलेआम सरकारका आर्थिक नीतिको खुलेआम विरोध गर्ने र सत्ताधारी मुखियाको नैतिक आचरणबारे प्रश्न उठाउने स्थितिको कल्पना गर्न सक्छौँ?
अमेरिकामा त्यो साहस (वा दुस्साहस ) गर्न सकिन्छ, किनभने अमेरिकी संविधान कागजको खोस्टा होइन। अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश आफूलाई भर्ना गर्ने नेताको ‘राजनैतिक दाम्लोवाद’ले बाँधिएका हुँदैनन्। न त्यहाँका संवैधानिक जाँच एजेन्सीलाई कुनै नेताले सजिलै मनलाग्दो तरिकाले घुमाउन सक्छ।
अमेरिकी करदाताको पैसा, व्यर्थका काम नलाग्ने कतिपय प्रोजेक्टहरूमा फ्याक्ने बानी परिसकेको थियो यूएसएआईडीमा काम गर्ने कयौँ स्टाफहरूलाई। यिनीहरूले सपनामा पनि सोचेका थिएनन्, एक दिन बिहानै यूएसएआईडीको रवाफ र कबाब मात्र होइन, साइनबोर्डसमेत गायब हुनेछ।
अमेरिकामा मलाई मेरो प्राध्यापकले सिकाएका कुरा मध्ये, एउटा हो – ‘कुनै पनि विषयलाई, एक पक्षीय नभएर, त्यसको बहुआयामिकताका हिसाबले हेर्नु। सिक्काको दुवै पाटो हेर्नु। जीवनमा अनुग्रहित हुन सिक्नु।
‘ओरालो लागेको मृगलाई खेदेर बहादुरी प्रदर्शन गर्ने काममा मेरो विश्वास कहिल्यै भएन। विश्वास त मलाई यो पनि छैन कि- जुन मृग ओरालो लाग्यो, त्यो गज्जब थियो। न म यो कुरा स्वीकार गर्न तैयार छु कि- नेपालमा यूएसएआईडी जे जति गर्यो सबै खराबै गर्यो।
सिक्काको दुवै पाटा हेर्नु पर्छ भनेको यही हो। यूएसएआईडीले अमेरिकामा के गर्यो? दुनियाँमा के गर्यो? उनीहरू नै जानून्। तर यसले नेपालमा केही राम्रो काम पनि गर्यो र केही अर्थहीन काम पनि गर्यो भन्न संकोच मान्नु पर्दैन।
तर आजको दिनमा, त्यसका स्टाफहरू (पूर्व) वा एनजीओहरू वा विकासे बौद्धिकहरूको मौनता देखेर छक्क परेको छु। यसरी चुपचाप छन्, यति सुनसान छन्, मानौँ युएसएडले उनीहरूको जागिर मात्र होइन जिब्रो र विवेक नै लिएर गयो। मानौँ युएएडले नेपालमा राम्रो केही गरेन। जे जति गर्यो खराबै मात्र गर्यो!
यति धेरै रक्षात्मक र सुनसान चुपचाप पनि हुनुपर्दैन बन्धु-बान्धवीहरूले। यूएसएआईडीले गरेका राम्रा कामलाई राम्रो भन्दैमा अमेरिकी किताबखानामा रेकर्ड खराब होला भनेर सुनसान हुनु पर्दैन!
अमेरिकी सरकारभन्दा १० गुणा बढी अमेरिकावादी हुनुपर्दैन हो, आलोचनात्मक चेतवाला बन्धुबान्धवीहरू!
म अनुमान गर्छु कि- राष्ट्रपति ट्रम्प वा विदेशममन्त्री रुबियो वा राजदूत डीन थम्पसन यति अनुदार पनि छैनन्- कि हामी ती केही असल कामका लागि पनि अमेरिकी जनतालाई धन्यवाद भन्न पनि डराऔँ। एक यस्तो आभार जसको उनीहरू हकदार छन्। यति भन्यौँ भन्दैमा रेकर्ड बिग्रन्न होला। बिग्रे बालै फरर!
यूएसएआईडीले गरेका केही कामका सम्झनलायक छन्। जस्तै:- नेपालको तराई मधेशमा औलो (मलेरिया) हटाउने काममा अमेरिकी सहयोग नियोगका सयौँ र हजारौँ नेपालीले गरेको अपूर्व योगदान।
मेरो नजरमा सन् १९५८ मा अमेरिकी सहयोग नियोगले सहयोग गरेको औलो उन्मूलन कार्यक्रम नेपालको इतिहासमा एक युगान्तकारी कोशेढुंगा थियो। त्यो परियोजनाले खनेको जगको परिणामस्वरुप आज तराई/मधेश क्षेत्र नेपालको अन्न ढुकुटी भएको छ। उद्योग, व्यापारको केन्द्र भएको छ। आधा जनसंख्याको निवास भएको छ।
राजा महेन्द्रको अमेरिका भ्रमणका दौरानमा भएको एक सम्झौता अन्तर्गत यो कामको सुरुवात भएको थियो। नेपालमा औलो युगका साक्षी मल्लु महतोलाई २३ वर्षअघि वृतचित्रका लागि सौराहमा भेट्दा उनको उमेर ९५ वर्ष थियो। त्यसपछि उनी थप ९ वर्ष बाँचे।
दुइ महिनाअघि उनका छोरा गिरीधारीसँग सौराहमा नै भेट भयो। उनलाई, हामीले उनका पिताजी मल्लु महतोको त्यो भिडियो क्लिप देखायौँ, जो यहाँ तल पोस्ट गरिएको छ।
यो भिडियो, ती सबै अमेरिकी जनताप्रति हाम्रो कृतज्ञताको प्रतीक हो। जसले तराई/मधेशबाट औलोको महामारी उन्मूलन गर्न सघाए। एक नयाँ युगको थालनी गर्न सघाए। मलाई लाग्छ, नेपालमा यूएसएआईडीले कयौँ अर्थहीन काम गर्यो र केही गज्जब काम पनि गर्यो।
जे भएपनि अन्त्यमा हामी सबै कथा बन्छौँ, केही खराब कामका कथाहरू, केही असल कामका कथा। असल काम, जस्तै यो भिडियोमा हेर्न सक्नु हुन्छ…
धन्यवाद र बाई बाई USAID ! नेपालका ३ छिमेकी छन । २ स्थल छिमेकी , भारत र चीन । र एउटा आकासबाट जोडिएको छिमेकी देश । अमेरिका संसारका सबै देशको – आकास छिमेकी हो । नेपाल जस्तो भुअवस्थिति भएको देशको त हुने नै भयो । भनिन्छ , भारत र चीनमा नजर राख्न नेपाल सबैभन्दा सस्तो ठांउ हो ।
अपवाद… pic.twitter.com/y2yNgYLY0f— Vijay Kumar Panday (@Vijaykumarko) June 8, 2025
(वरिष्ठ पत्रकार विजयकुमार पाण्डेको एक्सबाट)


