काठमाडौँ- एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियालाई सर्वसम्मत गराउने प्रयास सुरु भएको छ। उनको नेतृत्वमा कमिटी नै सर्वसम्मत बनाएर घोषणा गर्ने गरी पार्टीका नेताहरूले कसरत थालेका हुन्।
एमाले महासचिव शंकर पोखरेलकी श्रीमती सुजिता शाक्यले डा कडरियालाई अध्यक्ष बनाउन चाहेकी छन्। उनकै पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यरातमा बैठक भएको थियो।
स्रोतका अनुसार शंकरकी श्रीमती शाक्य पनि मेडिकल क्षेत्रकै भएकाले उनले डा. कडरियालाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएकी छन्। अनेरास्ववियु महाधिवेशनका कार्यक्रम सुरु भएपछि मध्यरातमा बसेको बालुवाटार बैठकमा डा कडरियाका पक्षमा वातावरण बनाउने गरी ओलीलाई ‘कन्भिन्स’ गराउन खोजिएको एक नेताले बताए।
मध्यरातको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल, समिक बडाल, माधव ढुंगेल, किशोरविक्रम मल्ललगायतका उच्च तहका नेताहरु बसेका थिए।
‘केही दिनअघि सबैजना त्यहाँ भेला भएका थिए। सोहीअनुसार शीर्ष तहबाटै अरु आकांक्षीलाई डा. कडरियासँग मिलेर जानुस् भनेर फोन आउन थालेको छ। कडरियालाई अध्यक्ष बनाएर प्यानल नै सर्वसम्मत गराउने प्रयास छ,’ स्रोतले भन्यो।
यता अनेरास्ववियु अध्यक्षका आकांक्षी प्रकाश पौडेल, दीपक धामी र अञ्जना शिवाकोटी भने पछि नहट्ने बरु चुनावी प्रतिस्पर्धामा जाने मुडमा छन्।
यसरी डा. कडरियाको पक्षमा केही नेताहरू सक्रिय भएको सूचना बाहिरिएपछि सोमबार साँझ महाधिवेशन हलमा नाराबाजी पनि भएको थियो। महासचिवका आकांक्षी विकास श्रेष्ठले पनि हलमा नाराबाजीसहित शक्ति प्रदर्शन गरेका थिए। उनी पनि चुनावी प्रतिस्पर्धामा जाने मुडमा छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २४ औँ महाधिवेशन उद्घाटन गरेका थिए। ३२ वर्षे उमेर हद लागु भएपछि अनेरास्ववियुले पहिलोपटक नयाँ नेतृत्व चयन गर्न लागेको हो।
जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा ३२ वर्ष उमेर हद लागु गर्ने निर्णय गर्दै परिपत्र गरेको थियो।
यसअघि नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लागु गरिसकेको छ।


