राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन्। शनिबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनले सांसदहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका सरकारी अधिकारीहरू र दलका नेताहरू पनि सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफूले संविधानको पालना र संरक्षण गर्ने बताए। राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने उनको भनाइ थियो।
नागरिकका अपेक्षाप्रति आफू सजग रहेको बताएका पौडेलले भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु।’






