काभ्रे- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो मुद्दासँगै दर्ता भएसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ।
शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले नेपालको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन्। नेपालको सांसद पद निलम्बनमा पार्ने पतञ्जली योगपीठको जग्गा प्रकरणको निर्णय भने १५ वर्षअघि अघिकै हो। त्यसबेला नेपाल प्रधानमन्त्री थिए। उनकै अध्यक्षतामा हुने मन्त्रिपरिषद्ले पतञ्जली योगपीठलाई हदबन्दी छुटमा जग्गा किन्न दिने र त्यसको एक महिना पछि नै बेच्न दिन पनि निर्णय गरेको थियो।
२०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो। यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। यसरी किन्दा सस्तोमा र बेच्दा महँगोमा पार्ने गरी भ्रष्टाचारको प्रपञ्चमा संलग्न भएको आरोपमा नेपालविरुद्ध मुद्दा परेसँग सांसद पद निलम्बनमा परेको हो।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन। तर सो जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


