इस्तानबुल- टर्कियका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन्। राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका हुन्।
एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन्। टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिए।
‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्यौं। म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ जितपछि उनले भने, ‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा ८ करोड ५० लाख नागरिक हुन्।’
उता निर्वाचितमा पाराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा “वास्तविक प्रजातन्त्र” नआएसम्म लडाइँ जारी राख्ने बताएका छन्। ‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौं। यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो,’ उनले भने।
एर्दोगानले २ करोड ७५ लाख १३ हजार ५८७ मत पाए। यो कुल मतको ५२.१४ प्रतिशत हो। विपक्षी नेता केमाल किलिचदारोग्लुले २ करोड ५२ लाख ६० हजार १०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन्। बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरे।
‘टर्कियका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुन: निर्वाचित भएकोमा बधाइ। म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम गर्न चाहान्छु,’ उनले लेखेका छन्।
यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन्।


