काठमाडौँ- आइतबार उद्घाटन भएको भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित भएको विषयमा नेपाली पक्ष मौन बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण जेठ १७ देखि सुरु हुने भएकाले नेपाल सरकारले यो विषयमा तत्काल कुनै धारणा सार्वजनिक नगर्ने रणनीति लिएको हो।
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रतिक्रिया जनाउँदा प्रधानमन्त्रीको भ्रमणमा असर पर्ने भएकाले तत्काल यसमा कुनै प्रतिक्रिया नजनाउने रणनीति लिएको हो। प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि चारदिने भारत भ्रमण गर्ने कार्यतालिका दुवै देशका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेका छन्।
नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र पाकिस्तानको तक्षशीलासम्मका क्षेत्रलाई समावेश गरिएको छ। अखण्ड भारतमा भारतवर्षका पुराना राज्य र सहरलाई समावेश गरिएको बताइँदै आएको छ।
भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ- अखण्ड’ भारत भन्दै ट्वीट गरेका छन्। बीजेपी सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन्। ‘नयाँ संसद् भवनमा अखण्ड भारत। यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ’ उनले लेखेका छन्।
भारतीय सत्तारुढ दल भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले ‘अखण्ड भारत’मा हालको अफगानिस्तानदेखि थाइल्यान्डसम्मका भूभागलाई समेटिने बताउँदै आएको छ। २४ र २५ फेब्रुअरी २०२३ मा भएको एबीपी नेटवर्कको कार्यक्रम ‘आईडियाज अफ इन्डिया’मा अखण्ड भारतका विषयमा छलफल भएको थियो।
सम्मेलनमा आरएसएसका सरकार्यवाह डा. कृष्ण गोपालले यो विषयमा कुराकानी गरेका थिए। अखण्ड भारतको विषय राजनीतिकका साथसाथै सांस्कृतिक विषय पनि भएको टिप्पणी गरेका थिए। यद्यपि यो विषय राजनीतिक भन्दा बढी सांस्कृतिक विषय भएको उनको भनाइ थियो।
‘ती (अखण्ड भारतका) सबै भाग जसले आफूलाई भारतको दर्शन र संस्कृतिसँग चिनाउँछन्, हाम्रो सांस्कृतिक उत्पत्ति भारत हो,’ उनले भने, ‘भारतको दार्शनिक, वैचारिक र सांस्कृतिक भावनासँग आफूलाई चिनाउनेहरू आफूलाई भारतसँग जोड्छन्। मेरो बुझाइमा, यो राजनीतिक भन्दा बढी महत्त्वपूर्ण छ।’
‘हामीलाई नेपाल, भुटान, म्यानमार र श्रीलंकाले भारतलाई आफ्नो ठुल्दाइ ठानेको देखिन्छ। अहिले पाकिस्तानमा पनि धेरै विश्वविद्यालयमा पाकिस्तान जन्मेको चर्चा छ। इतिहासका प्राध्यापकहरू पाकिस्तान १४ अगस्ट १९४७ मा जन्मिएको कुरामा सहमत छैनन्। उनले ‘मोहनजोदारो’लाई आफूसँग जोड्छन्, तक्षशीलालाई आफूसँग जोड्छन्,’ उनले भनेका थिए।
अखण्ड भारतले कुनकुन देश समेट्छ त?
जवाफमा कृष्णगोपालले भनेका थिए, ‘सिन्धु घाँटी सभ्यतालाई हामी आफैसँग जोड्छौं। आफैँलाई हजारौं वर्ष पछाडि लैजाऔँ। यस्तो बहस पाकिस्तानका विश्वविद्यालयमा पनि हुने गर्छ। जब पाकिस्तानले आफूलाई हजारौं वर्ष पछाडि लैजान्छ, त्यो स्वत: भारतसँग मिल्छ। पाकिस्तानीका विज्ञहरू पनि आफूहरूले धर्मपरिवर्तन गरेको बताउँछन्। यो भावले त झन् भारतलाई जोडिहाल्छ।’


