२०८३ साउन १३ गते बुधबार

आम जनतालाई राज्य छ भन्ने आभास नै छैन : सुनीलकुमार शर्मा [कुराकानी]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
sunil_sharma

प्रतिनिधिसभामा मोरङ-३ बाट निर्वाचित डा सुनीलकुमार शर्मा मेडिकल शिक्षा र अस्पतालको व्यवसाय गर्छन्। झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते जन्मिएका उनी थुप्रै विषयमा खरो बहस गर्छन्। सत्तामा पुगेपछि सरकारका गलत काममा पनि कांग्रेसको बोली साह्रै मधुरो भएका बेला यदाकदा उनको स्वर चाहिँ सुन्न पाइन्छ।

उनै शर्मासँग संसदीय अभ्यास, स्वास्थ्य तथा शिक्षा क्षेत्रको अवस्था, आर्थिक विकासलगायत समसामयिक विषयमा सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश

१.तपाईंको दैनिकी कसरी बितिरहेको छ? 
संसद्को गतिविधि र काममा संलग्न रहनुका साथै जनताका गुनासा सुन्ने र समस्या समाधानमा लाग्ने प्रयास गरिरहेको हुन्छु। पार्टीको कामलाई पनि समय दिइरहेको छु। साथसाथै आफ्नो निर्वाचन क्षेत्र र देशका विभिन्न भेगमा समय मिलाएर जाने र जनतामा समस्या बुझेर संसद्मा प्रस्तुत गर्छु। बुद्ध दर्शन र हिमालयनसम्बन्धी अध्ययनमा पनि व्यस्त छु।

२.प्रतिनिधिसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो?
सदन मैले अपेक्षा गरेकोभन्दा फरक रहेछ। सदनलाई जनताको सर्वोच्च थलो भनेर मानिन्छ, तर यहाँ जनताभन्दा पनि नेता केन्द्रित पाएको छु। पार्टीका सीमित नेताको पक्ष र विपक्ष भएर सांसद उभिने गरेको धेरै पाएँ। त्यो हेर्दा सदन केही नेताको कब्जामा छ कि जस्तो लाग्छ। आमनागरिकप्रति उत्तरदायित्व पूर्ण भूमिका निर्वाह भएको नपाएपछि सोचेजस्तो प्रभावकारी र जनताले अनुभव गर्न सक्नेगरी काम भएको छैन। आफ्ना विचार राख्न पनि सहजै समय नपाइने अवस्था छ। सबै जनता केन्द्रित हुने भए धेरै काम हुन सक्छ।

३. संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ?
संसदीय अभ्यासको प्रक्रिया आफैँमा नराम्रो छैन। संसारका कतिपय मुलुक संसदीय व्यवस्थाको अभ्यासका आधारमा विकास गरिरहेका छन्। तर, यहाँ समस्या छ। यसमा प्रणालीभन्दा पात्रको समस्या जस्तो लाग्छ। जबसम्म यी पात्रको मानसिकतामा परिवर्तन हुँदैन, प्रणालीले मात्र आफैँ निकास दिन्छ भन्ने लाग्दैन। म आशावादी छु, एकदिन पात्रको मानसिकता वा पात्र फेरिने छन्। समय लाग्न सक्छ तर हाम्रो संसदीय अभ्यास पनि जनता केन्द्रित हुनेछ।

४. संविधान कार्यान्वयनको अवस्था के छ?
संविधान जारी भएर कार्यान्वयनमा गएको पनि एकदशक पुग्न लागेको छ। तर दूरदराजका जनताको जीवनस्तरमा परिवर्तन हुन सकेको छैन। गत वर्ष विभिन्न जिल्लाका गाउँगाउँ पुगेको थिएँ। कर्णालीका गाउँदेखि मधेसका भित्री बस्तीसम्म पुगेको छु। त्यहाँ पुग्दा आमजनतालाई राज्य छ भन्ने आभास नै भएको छैन।

काठमाडौँका सडकमा मकै पोल्ने, कर्णाली र मेची खोलामा गिट्टी फोड्ने नागरिकको जीवनस्तर वर्षौंदेखि उस्तै छ। तीन तहका सरकार भएर के गर्ने? जब आमनागरिकले त्यो महसुस गर्दैनन् भने यहाँबाट पनि स्पष्ट हुन्छ, संविधान प्रभावकारी कार्यान्वयन भएको छैन। संविधानमा नागरिकलाई स्वास्थ्य, शिक्षाको पहुँचलाई मौलिक अधिकारका रूपमा व्याख्या गरिएको छ, तर संविधान भुँइ मान्छेसम्म पुग्न सकेको छैन। स्वास्थ्य बिमा कार्यक्रम पनि असहाय, विपन्न वर्गको पहुँ बाहिर छ। एक सयजना जनतालाई तीन तहका सरकार र कार्यान्वयनको अवस्थाबारे धारणा सोध्नुहोस्, उत्तर पाइहाल्नुहुन्छ, संविधान कार्यान्वनको अनस्थाका बारेमा।

५. संविधान संशोधन आवश्यक छ कि छैन?
देश सबै नेपाली नागरिकको हो। संविधान मान्ने र नमान्ने दुवैको हो। तर, आजको दिनमा संविधानबारे सदन, सडक, सामाजिक सञ्जाल, पत्रपत्रिका, चियापसल सबै तिर प्रश्न उठेको छ। सङ्घीयता, धर्म निरपक्षेता र गणतन्त्रले दिएको मौलिकताका विषयमा राज्यसँग जवाफ छैन। जबसम्म आमनागरिकले संविधानमा भरोसा गर्दैनन्, त्यो केबल किताबमात्र हुनेछ। त्यसैले नागरिकलाई भरोसा दिनसक्ने र सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैन। संविधान अकाट्य विषय पनि होइन, समयसापेक्ष रूपमा परिवर्तन र संशोधन गर्दै जाँदा उचित हुन्छ।

६. सुशासनका लागि सरकारलाई तपाईँको सुझाव के छ?
सुशासन सैदान्तिक मात्र नभई व्यावहारिक र नैतिक विषय हो। जुनसुकै व्यवस्थामा पनि कागजातमा लेखेर सुशासन कायम हुँदैन। जब व्यवहारमा जान्छ, शासन सही तरिकाले कार्यान्वयन हुन्छ तब सुशासन कायम हुन्छ। जनताले सहज रूपमा सार्वजनिक सूचना र सेवाको पहुँच विस्तार हुँदै गएका सुशासन महसुस गर्न सकिन्छ। यो व्यावहारिक विषय भएकाले सकारात्मक अभ्यास अनुसरण गर्दै जानुपर्छ। अनुसरण गर्ने कार्य नेतृत्वदेखि सुरु हुन्छ, चाहे त्यो राजनीतिक होस् वा कर्मचारीतन्त्रको नेतृत्व। जबसम्म त्यो बदलिँदैन सुशासन कायम हुँदैन। जस्तोः इरानमा मदिरा प्रतिबन्ध छ, मदिरा सेवन वा बेच्नेलाई मृत्युदण्डको सजाय छ। तर बिक्री र सेवन भइरहेको छ। त्यहाँ कोही बोल्दैनन्। काजतमा शासन छ त।

७. सङ्घीयतालाई सुदृढ बनाउन के गर्नुपर्ला?
संविधानले तीन तहका सरकारका क्षेत्राधिकारकाबारे व्याख्या गरेको छ। तर जनताले सरकार भेटाउन सकिरहेका छैनन्। यसरी कहिलेसम्म होला? हामीले जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ र जनता केन्द्रीय सरकार स्थापनामा जोड दिनुपर्छ। त्यसका लागि सङ्घीयतालाई पुनःविचार जरुरी छ।

८. देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्ला?
मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने भनेको स्थानीय स्रोतसाधनको प्रयोग बढाउने हो। प्राकृतिक तथा मानवसंशाधनका साथै वा प्राविधिक स्रोतको उचित व्यवस्थापन, प्रयोग र सी विकासमा जोड दिनसके स्वरोजगारका अवसर सृजना हुँदै जानेछन्। हाम्रोमा सबै स्रोतलाई परिचालन गर्ने सन्दर्भमा समस्या देखिन्छ। मानव स्रोत (दक्ष, अर्धदक्ष र अदक्ष भएका) सबै स्रोतलाई विदेश पठाइरहेका छौँ। दक्ष जनशक्ति उत्पादनमा ‘सिन्डिकेट’ छ। प्राकृतिक स्रोतको दोहन भइरहेको छ। यसरी मुलुक कसरी बन्छ?

९. युवालाई विदेश पलायन हुनबाट रोक्न के गर्नुपर्ला?
स्वदेशमा सम्भावनाका ढोका बन्द गरेर युवालाई विदेश जानबाट रोक्न सकिँदैन। यहाँ पढ्छु, केही गर्छु भन्नेलाई उचित वातावरण बनाएर अवसर दिनुपर्छ। विज्ञान, प्रविधि कहाँ पुगिसक्यो। विकास, उद्यमशीलताका क्षेत्रमा हरेक दिन नयाँनयाँ विकास भइरहेका छन्। केही स्वार्थ समूहले बनाएको ‘सिन्डिकेट’भित्र बसेर समाधान खोज्नुभन्दा सिन्डिकेटको जालो सबै मिलेर तोड्नुपर्छ। हामीले बलियो अर्थतन्त्र र रोजगारी सिर्जना गर्नेतर्फ स्रोतसाधन परिचालन गर्नुपर्छ।

१०. तपाईंले निर्वाचनको समयमा जनतासमक्ष राख्नुभएको प्रतिबद्धता कति पूरा गर्नुभयो?
जनताका चाहना महत्वाकाङ्क्षी भए पनि स्वास्थ, खानेपानी, शिक्षा, सडक, पुललगायत अत्यावश्यक पूर्वाधार निर्माण भइरहेका छन्। मेरो निर्वाचन क्षेत्रमा सुकुम्बासीको अव्यवस्थित बसोबास छ। यो विषयलाई मैले सदनदेखि सम्बन्धित नियाकसम्म उठाउँदै आएको छु। अहिले यो मेरो कार्यकालमा जग्गा धनीपूर्जा दिन सकिन्छ भनेर लागिरहेको छु।

११. स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारलाई तपाईंको सुझाव के छ?
सरकारले गर्न चाहने हो भने स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्ने ठाउँहरू छन्। स्वास्थ्य क्षेत्र सुधारका लागि मैले प्रतिनिधिसभामा नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा र बिमासम्बन्धी सार्वजनिक महत्त्वको प्रतिवेदन पेस गरेको थिएँ। संविधानले पनि स्वास्थ्यलाई मौलिक हक दिएको छ, प्रभावकारी कार्यान्वयनमा सबैले सहकार्य गर्दै जानुपर्छ।

१२. जनताको आर्थिक, शैक्षिक अवस्था सुधार्न के गर्न सकिन्छ?
जनताको अवस्था सुधार्नका लागि दुई वटा मूलभूत विषय छन्। पहिलो शिक्षा र अर्को रोजगारी। जबसम्म देशमा शिक्षा र रोजगारीको वातावरण हुँदैन, तबसम्म हालको अवस्थाभन्दा जनताको जीवनस्तर सुधार हुँदैन।

१३. आमजनतालाई तपाईंको सन्देश के छ?
म जनताबाट चुनिएर आएको प्रतिनिधि हुँ। मैले जनता र देशका लागि काम गर्छु भनेर शपथ खाएको छु। त्यसैले म निर्वाचित भएर संसद्मा शपथ खाएर प्रवेश गरेपछि सांसदका रूपमा लिने सबै सेवासुविधा राज्यलाई फिर्ता गरेको छु। अहिलेसम्म केही लिएको छैन। नेपालको सङ्घीय सांसदका रूपमा मुलुकमा विद्यमान बेतिथि, भ्रष्टाचार र अन्यायविरुद्ध निरन्तर आवाज उठाइरहेको छु र उठाइरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु। जनताको पनि पूर्णसाथ र समर्थनको आशा राख्दछु।

प्रकाशित: २०८२ असार ८ गते आईतबार ०१:४१
प्रतिक्रिया

थप समाचार

‘सनसेट ल’ लागू र पीपीए खोल्ने हो भने साढे २८ हजार मेगावाट लक्ष्य सजिलै पुरा हुन्छ (अन्तर्वार्ता)

यदि तीन काम भए भने, २८ हजार ५०० मेगावाटको लक्ष्य केवल भाषणमा होइन, हाम्रा घरका स्विचहरूमा र देशको ढुकुटीमा देखिनेछ। हामी उद्यमीहरू जोखिम मोल्न तयार छौँ। सरकारले केवल बाटो सफा गरिदिए पुग्छ।

‘अरूको नाममा अकुत सम्पत्ति राखेकादेखि विशाल भवन बनाएकोसम्म उजुरी परेको छ’ (अन्तर्वार्ता)

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ। आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइ आएको घरजग्गा...

‘सरकारले बस चलाउने र व्यापार गर्ने हैन, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने हो’

हिमाल सिमेन्ट, हेटौँडा कपडा कारखाना र गोरखकाली टायर जस्ता दशकौँदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने कुरा पूर्णतः अव्यावहारिक छ। यस्ता काममा हात हाल्नुभन्दा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन...

‘नेपालमा पुँजी अभाव हैन, लगानीको वातावरण छैन’

'निजी क्षेत्र नभएको भए नेपाल अझै लोडसेडिङमै हुन्थ्यो, यदि लगानीमैत्री वातावरण र नीतिगत सुनिश्चितता दिने हो भने नेपाली जनताको पैसा नै जलविद्युतका लागि पर्याप्त छ। यो क्षेत्रले ८ देखि १६ लाखसम्म...

हाल देखिएको ऊर्जा संकट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर: ऊर्जाविद् गुरुङ

काठमाडौँ: मध्यपूर्वमा जारी युद्धका कारण यतिवेला विश्वमा ऊर्जा संकटको समस्या गहिरिएको छ। अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना