२०८३ कार्तिक ११ गते मङ्गलबार

पाखो बारीमा केरा लगाएर १५ लाख आम्दानी

 |  कमलकुमार बस्नेत
Sanket

कमलकुमार बस्नेत

काठमाडौँ, असार १५
kera

बेनी (म्याग्दी)- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन्। वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्किएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन्। सुरुमा तीन रोपनीमा केराखेती गरेका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लागेका थिए।

‘अहिले मेरो सबै जग्गामा केराखेती छ, करिब २५ रोपनीमा केराखेती विस्तार गरेको छु, वार्षिक रूपमा रु १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु’, खत्रीले भने। परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायत अन्नबाली लगाउने बारीमा खत्रीले व्यावसायिक केराखेती लगाएका छन्।

केराखेतीका लागि आवश्यक पर्ने मलका लागि कुखुरापालन पनि गर्नुभएका खत्रीले परम्परागत खेतीबालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। उनका चारवटा केराखेतीको बगान छन्। काउलेगौँडामा विगत एक दशकयता केराखेतीको लहर चलेको हो। यहाँका करिब एक सय ५० घरपरिवार सबैले केराखेती गरेका छन्। काउलेगौँडाको थाकन, गौउथले, मुलबारी, पाटारुख, बराहथान तुसारेलगायत क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ।

यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेतलगायतले केराको व्यावसायिक खेती गरेका छन्। काउलेगौँडाका विभिन्न टोलबस्तीमा करिब चार सय रोपनीमा केराखेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिए। अध्यक्ष बस्नेतले समेत साढे पाँच रोपनी बढी जग्गामा केराखेती गरेका छन्। उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत काउलेगौँडामा एक सय २० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ।

पच्चीस जना किसान आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको रु १२ लाख अनुदान र किसानको रु १२ लाख बराबरको साझेदारीमा एक सय २० रोपनी जग्गामा केराखेती विस्तार गरिएको छ। दुईवटा माटे पोखरी र एक ढलान गरेको पक्की सिँचाइ पोखरी निर्माण गरी स्थानीयस्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर तीन हजार पाँच सय मिटर पाइप लाइन विस्तार गरेर केराखेती भएको ठाउँमा सिँचाइको बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताए। पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणसमेत खरिद गरी वितरण गरिएको छ। यहाँ हजारी, धुर्से र मुर्रे जातका केराखेती हुँदै आएको छ।

काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मुलहरूलाई जम्मा गरेर केराखेतीमा सिँचाइको प्रबन्ध मिलाउँदै आइएको छ। व्यावासायिक रूपमा खेती विस्तार भइरहेकाले निकट भविष्यमा हिउँदयाममा केरालाई सिँचाइको अभाव हुने भएकाले रघुगङ्गा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिँचाइ आयोजनाका लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिए।

अन्नबाली छाडेर केराको व्यावसायिक खेती
युवायुवती वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केराखेती सुरु गरेका थिए। खेतबारीलाई बाँझो रहन नदिन सुरु भएको केराखेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ। गाउँमा अधिकांशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा पनि केराखेती लगाएको स्थानीय कुलबहादुर बस्नेतले बताए।

स्थानीयले खेतबारी बाँझो रहन नदिन सुरु गरेको केराखेती सफल भएपछि अहिले अभियानकै रूपमा केराखेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको जीवनस्तर सुधारमा पनि सघाउन थालेको वडाध्यक्ष केसीले बताए।

‘करिब आठ रोपनी जग्गामा केराखेती विस्तार गरेको छु, अहिले त्यसले उत्पादन दिन थालेको छ, उत्पादन भएको केरा बिक्रीका लागि बजार अभाव छैन, खेती गर्न पनि कठिन छैन’, बस्नेतले भने। व्यावसायिक रूपमा पशुपालन गरेर दूध बिक्री गर्दै आउनुभएका बस्नेतले गाउँ नजिकै रहेको गलेश्वर बजारमा दूध तथा केरा बिक्री गरेर मासिक रु २७ हजारबराबर आम्दानी हुने गरेको अनुभव सुनाए।

गाउँमा अधिकांश घरले केराखेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन्। परम्परागत खेतीबाट नगद आम्दानी नहुने र श्रम गर्ने जनशक्तिको अभाव हुन थालेपछि अन्नबालीको विकल्पमा यस गाउँमा केराखेती विस्तारले तीव्रता पाएको थियो। स्थानीय किसान टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केराखेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको सुनाए।

करिब पाँच वर्षदेखि केराखेती गरेका बस्नेतले धानखेती हुने करिब आठ रोपनी खेतमा केराखेती विस्तार गरेका छन्। ‘अन्नबाली लगाउनुभन्दा केराखेतीबाट धेरै फाइदा छ, बिरुवा लगाएपछि हिउँदयाममा सिँचाइ पुर्याउन सकियो भने उत्पादन राम्रो हुन्छ, पहिले अन्नबाली लगाउने स्थानीय अहिले फलफूलखेतीतर्फ आकर्षित भएका छौँ’, उनले भने।

स्वरोजगार र समृद्धिका लागि पकेट क्षेत्र विस्तार
म्याग्दी अहिले पनि केरामा आत्मनिर्भर बन्न सकेको छैन। बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ९ को काउलेगौँडा केराखेतीको पकेट क्षेत्र मानिन्छ। नगरपालिकाले सम्भावित खेतीको व्यावसायिकता बढाउन र किसानलाई स्वरोजगार, जिल्लालाई आत्मनिर्भर, गाउँलाई समृद्धिको बाटोमा अघि बढाउन पकेट क्षेत्र विस्तारलाई जोड दिएको छ।

चालु आर्थिक वर्षमा वडा नं ३ भकिम्लीलाई विकी र वडा नं ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी किसानलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए। उनका अनुसार, नगरपालिका र कृषक समूहको रु १२–१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ।

बेनी –९ घतानका वडाध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका किसान केराखेतीको व्यावसायिकतामा लागेको बताए। स्थानीयले खेतबारी बाँझो रहन नदिन सुरु गरेको केराखेती सफल भएपछि अहिले अभियानकै रूपमा केराखेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको जीवनस्तर सुधारमा पनि सघाउन थालेको वडाध्यक्ष केसीले बताए। यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ। बजार खोज्न नपर्ने र व्यापारी केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केराखेतीमा आकर्षण बढेको छ। बोट लगाएको दुई वर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीका रूपमा विस्तार हुने तथा अन्य फलफूलको तुलनामा गोडमेल र मलजलमा समेत झन्झट कम हुने भएकाले केराखेती किसानको रोजाइमा पर्न थालेको छ। म्याग्दीमा अहिले पनि बाहिरबाट केरा आयात हुने भएकाले केराखेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ असार १५ गते आईतबार ०८:४०
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना