काठमाडौँ- एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित निकालेको छ।
आइतबार क्वालालम्पुरस्थित सेलेंगार टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियामाथि सानदार जित निकालेको हो।
नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसियाले २४.३ ओभरमा ५० रन मात्र बनाउन सक्यो।
टस जितेर इन्डोनेसियाले फिल्डङको निर्णय लिएपछि ब्याटिङ आएको नेपालले पाँच विकेटको क्षतिमा ४२० रन बनाएको थियो।
नेपालका जितमा प्रसिद्ध जैशीले शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र एक छक्कासहित १३२ रन बनाए। रौनक श्रीवास्तवले ८८ रन बनाए। यस्तै, परिमार्जन यादवले ७१ रन र जोय थापाले ५७ रन जोडे।
इन्डोनेसियाका केटुट दर्मा पुत्रले दुई विकेट लिए। रायान रिजा अथल्ला, महेन्द्र अजी युदा प्रातमा र केभिन निरज चड्डाले समान एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा आएको इन्डोनेसियाका लागि केभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाए। डेभिट निन्दाले १४ रन जोडे। यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका विपीन शर्माले ६ विकेट लिए। उनले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिएका हुन्।
सुभम खनाल, सुगम बुढाथोकी र सचिन भट्टले समान एक–एक विकेट लिए।
प्रतियोगिातामा नेपालले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ। समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। नेपाल हालसम्म सम्पन्न भएका तीन संस्करणको च्याम्पियन हो।
नेपालले अब समूह चरणको चौथो खेलमा असार १७ गते भुटानसँग खेल्नेछ।


