काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘मरेको सिनो’को संज्ञा दिएकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री आफूलाई स्पष्टीकरण सोधिएको कुरा स्वीकार गर्न तयार छैनन्। बिहीवार पार्टी कार्यालय पुगेकी झाँक्रीले आफूलाई स्पष्टीकरण सोधिएको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै तर्कने प्रयास गरेकी छन्।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिए। तर झाँक्री उपाध्यक्षको कुरालाई चुनौती दिइरहेकी छन्। झाँक्री आफूविरुद्ध निराधार हल्ला चलाइएको जिकिर गर्छिन्।
बरु आफूविरुद्ध केही नेताहरूले मिडियामा गएर स्पष्टीकरण सोधिएको भन्ने कुराको हल्ला चलाइएको आरोप उनको छ। उक्त विषयमा उनी प्रष्ट पार्न भन्दै सचिवालय बैठकमा पुगेको बताउँछिन्। आफूमाथि उठेका विषय सचिवालय बैठकमै प्रस्ट पार्न पाउँ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिएकी छन्।
‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ। मलाई त सोधिएको छैन,’उनको भनाइ थियो।
उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताउँछन्।
यसैबिच झाँक्रीले पार्टीमा स्पष्टीकरण सोध्ने अधिकार महासचिवलाई मात्र भए पनि अनुशासन आयोगले सोधेकाले त्यसलाई आफूले स्पष्टीकरणका रूपमा नलिने निकटस्थहरूसँग बताउने गरेकी छन्। यसबारे उपाध्यक्ष खतिवडाले अनुशासन आयोगले पार्टीका जो कसैलाई स्पष्टीकरण सोध्न सक्ने प्रष्ट पारिसकेका छन्।
आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भई निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको झाँक्रीको दाबी छ। तर पार्टीका ठूला नेताहरूले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ।
आफूले बोलेका विषयमा भने पार्टीको बैठकमा राख्ने उल्लेख गरिन्। स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थित भई स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छन्।
झाँक्रीले बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै अभिव्यक्ति दिएकी थिइन्। ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ असार १५ गते बुटवलमा भएको प्रशिक्षणमा उनले भनेकी थिइन्।
सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा राजनीतिक प्रतिशोध साँधिएको विषयमा छलफल भएको खतिवडाले बताए। बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए। भने पार्टीका केही नेताहरू अस्वस्थ रहेकाले बैठक केही समय बसेर स्थगित गरिएको खतिवडाको भनाइ छ। सचिवालय बैठक असार २२ गते पुनः बस्ने गरी स्थगित भएको छ।
अध्यक्ष नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुछिएका थिए। उनलाई विशेष अदालतले गतअसार ११ गते ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


