वासिङ्टन डिसी- अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ।
उक्त सडकलाई नामकरणका लागि विगत ६ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्बर्स एसोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिस्टिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो।
क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने, ‘सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ। हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो।’ सोमवार आयोजित कार्यक्रमपछि उनले भने, ‘यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो।’
कार्यक्रममा सहभागी हुनुभएका र लामो समयदेखि न्यूयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गरे। ‘सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने।
यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएका थिए। सोमबार सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा सगरमाथा दिवस पनि मनाइएको थियो।
कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी थिए। नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो।
वासिंटनमा नै गणतन्त्र दिवस स्थापना भएको अवसरमा झण्डोत्तोलनसहित कार्यक्रम गरिएको छ। अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले वाशिङ्टन डिसीस्थित नेपाली दूतावास परिसरमा एक समारोहबीच झण्डोत्तोलन गरेका थिए। नेपाली नियोगका उपप्रमुख कुमार खरेललगायत दूतावासका अधिकारीहरू सहभागी कार्यक्रममा राजदूत खत्रीले शुभकामना सन्देश दिए।


