काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे फ्रान्स प्रस्थान गरेका छन्। पेरिसमा हुने युनेस्को वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी मन्त्री पाण्डे सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
विमानस्थलमा उनलाई मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहितको टोलीले बिदाइ गरेको थियो।
बैठकमा कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि मन्त्री पाण्डे र मन्त्रालयले विशेष पहल गर्ने योजना बनाएका छन्। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि मन्त्री पाण्डेको यसपालिको फ्रान्स भ्रमण कोसेढुंगा सावित हुने विश्वास मन्त्रालय लिएको उनको सचिवालयको भनाइ छ।
स्थानीयहरूले लामो समयदेखि तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गर्दै आएका छन्। त्यही अनुसार सरकारले पनि त्यसको स्वामित्त्व लिँदै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।
युनेस्को वर्ल्ड हेरिटेज कमिटीमा २१ वटा देश छन्। उक्त कमिटीमा बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था छ। कमिटीमा एसियाबाट भारत, कतार, जापान र कोरिया सदस्य छन्।


