काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले यतिबेला पश्चिम एसिया भ्रमणमा छन्। बिहीवार ओमान रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा सहभागी घिसिङले त्यहाँ रहेका नेपालीहरूलाई सम्बोधन गरेका छन्। त्यहाँका नेपालीसँग उनले समसामयिक सामाजिक विषयमा मात्र अन्तर्क्रिया गरेका छैनन्, देशको राजनीतिक विषयमा पनि वातावरण तयार गरिरहेका छन्।
जुलाई ८ मा कुलमान कतारमा थिए। उज्यालो अभियान लिएर दोहा पुगेका उनले आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए। यो उनको राजनीतिक वक्तव्य हो भनेर धेरैले लख काटेका छन्।
देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङको भनाइ थियो।
दोहामा उनले सम्मान थापे। लोडसेडिङ अन्त्यको श्रेयले उनलाई सम्मान थाप्ने वातावरण बनाएको हो।
यसअघि कुलमान बहराइन पुगेका थिए। त्यहाँ पनि उनले समुदायले गरेको सम्मान ग्रहण गरे। घिसिङको सम्मानमा गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)ले उनलाई सम्मान गरेको थियो।
‘यो अभियान देशलाई समृद्ध बनाउने हो। देशलाई आजको स्थितिबाट परिवर्तन गर्ने अभियान नै हो। देशको समग्र क्षेत्रलाई जागरण ल्याउने अभियान हो,’ उनले भने,‘यसबाट राम्रो नेतृत्व जन्माउने हुन सक्छ।’ उनका यी भनाइ फगत नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशकजस्तो प्राविधिक वक्तव्य होइनन्।
अहिले देशको नेतृत्वमा देखिएको विश्वासको संकटलाई समाधान गर्न जरुरी रहेको बताए। ‘अहिले नेतृत्वमा ठूलो विश्वासको संकट छ। यसलाई समाधान गर्दै नेतृत्वमा ठूलो परिवर्तन हुनुपर्छ। हामीले तत्काल राजनीतिक बहस चलाएको छैन,’ उनले भने, ‘सही व्यक्ति सही ठाउँमा लैजानुपर्छ। राजनीतिक तहमा माथिदेखि तलसम्म सुध्रिँदै गएपछि सम्बोधन गर्नुपर्ने प्राविधिक विषयहरु आफै मिल्दै जान्छ।’ यसरी मुख खोलिसकेपछि उनले राजनीतिसँगको साइनोलाई केलाउँदैछन् भनेर बुझ्न गाह्रो छैन।
यद्यपि उनी हतारिएर राजनीतिमा हाम फालिहाल्ने अवस्थामा पुगेको भन्ने जस्तो चाहिँ सुनिन्नन्। केही मानिसहरूले घिसिङले तत्कालै हामफाल्ने अवस्थामा पुगेको भनेर शंका गरेपनि त्यसलाई उनले नकारिदिए। कात्तिकमा रुपन्द्रेही-३ मा प्रतिनिधि सभा चुनाव हुँदैछ। त्यसकै तयारी गरेको आभास गरेका केही राजनीतिक कार्यकर्ताहरूलाई उनले निराश र उत्साहित एकसाथ बनाएका छन्। राजनीतिक दलका धेरै कार्यकर्ताहरूले कुलमानले कांग्रेस र एमाले रोज्छन् भन्ने कुरा मान्दैनन्। उनलाई माओवादीको भने राम्रो समर्थन छ। यद्यपि उनले कुनै पनि राजनीतिक दलमा जोडिन जाने भन्नेमा मुख फोरेका छैनन्।
‘अहिले नै पार्टी खोल्ने अभियान होइन। एउटा व्यक्ति एक ठाउँमा गएर वा एउटा सांसद भएर मात्रै परिवर्तन सम्भव छैन। राज्यको संयन्त्र नै चलाउन सक्नुपर्छ,’ उनले भने,‘यो अभियानमा हामी जोडिँदै जानेछौं। टिम बनाउनेछौं। विस्तृत खाका बन्दै छ।’
बहराइनमा घिसिङले आफ्नो अभियानलाई साथ दिनका लागि आह्वानसमेत गरे। आफ्नो अभियानले आशा जगाउने दाबी गरे। ‘यो अर्थतन्त्र, सामाजिक जीवन र आत्मविश्वास जागृत गर्ने अभियान हो। यो भएन भने युवाहरूको पलायन रोकिँदैन,’ उनले भने। आफूले साथ पाए अगाडि बढ्ने पनि बताए। त्यसका लागि अभियानमा जोडिनका लागि उनले आह्वान गरे।
‘उज्यालो अभियान लिएर अगाडि बढौँ, यो अभियान भनेको देशलाई उज्यालो बनउने, तपाईंको अनुहार उज्यालो बनाउने, हाम्रा बा-आमा, बालबच्चाहरूको अनुहार उज्यालो बनाउने अभियान हो, तपाईंहरू साथ दिनुस्, म अगडि बढ्न तयार छु,’ उनले प्रतिबद्धता जनाए।
जुलाई २ देखि ४ तारिखसम्म बहराइनमा, जुलाई ५ देखि ८ तारिख युएई र जुलाई ९ देखि १० सम्म ओमनको भ्रमणमा रहेका घिसिङ जुलाई ११ देखि १३ सम्म कतारमा रहनेछन्।
मध्यपूर्वका केही मुलुकहरूको भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले राजनीतिमा पदार्पण गर्ने संकेत गरिसकेका थिए। ‘देशको समग्र अर्थतन्त्र सुधार्न नेतृत्व महत्वपूर्ण हुन्छ। त्यसकारण त्यो क्षेत्र राजनीति पनि हुन सक्छ,’ घिसिङले भने, ‘तर कसरी अघि बढ्ने भन्ने विषयमा म विभिन्न तहका व्यक्तिहरूसँग छलफल गरिरहेको छु।’
खाडी जानुअघि कुलमान बाराको निजगढ, जितपुर सिमराको टाँगियाबस्ती सर्लाहीलगायतका विभिन्न स्थानमा पुगेर सम्मान लिइसकेका छन्। मञ्चमा उक्लिसकेका छन्। भाषण गरिसकेका छन्। सम्मान लिनु सामान्य कुरा भएपनि त्यसलाई मञ्च बनाएर उनले राजनीतिक गतिविधि चलाउन थालेको प्राधिकरणबाट बाहिरिदिएपछि नै भएको उनलाई निकटबाट जान्नेहरूले बताउँछन्।
२०८१ चैत ११ गते मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो। साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो। आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर साढे चार महिनाको कार्यकाल पुरा गर्न नदिएको कुलमानको बुझाइ छ। त्यसैले पनि हुन सक्छ- उनमा राजनीतिको भोक पलाएको।
प्राधिकरणबाट बिदा भइसकेपछि आफूलाई फुर्सद मिलेको भन्दै विभिन्न किसिमका छलफल, बहस, सुझावहरू लिने काम समेत गरिरहेको उनले बताएका छन्। ‘आगामी दिनमा के गर्ने भन्ने विषयमा पनि विभिन्न साथीभाइ, एक्सपर्ट सबैसँग छलफल गरिरहेको छु । फुर्सदको समयमा आफ्नो व्यक्तिगत काम पनि गर्छु। त्यस कारण म व्यस्तै छु। फुर्सद भनेर प्राधिकरणबाट बाहिर आउँदाखेरि हिजो गर्न नपाएका र हिजो भेट्न नपाएका साथीभाइहरूलाई भेट्न पनि पाएको छु,’ आफ्नो योजना सोध्नेहरूलाई उनको रेडिमेड जस्तै खालको उत्तर छ।
आफ्नो योग्यता र ३० वर्षको अनुभवलाई सदुपयोग गर्ने बताउँछन्। ‘मेरो अनुभव र योग्यताको आधारमा देश र जनताको लागि बढीभन्दा बढी योगदान कहाँबाट, कसरी गर्न सकिन्छ, कुन क्षेत्रबाट गर्न सकिन्छ, म त्यही क्षेत्रमा लाग्छु,’उनले भने।
यद्यपि, अहिलेसम्म कुनै राजनीतिक दलसँग औपचारिक छलफल नभएको घिसिङको दाबी छ। ‘म अहिले सर्वसाधारण नागरिकको हैसियतमा विभिन्न विचार, नेताहरू र विज्ञहरूसँग छलफल गर्दैछु। कुनै राजनीतिक दलसँग औपचारिक रूपमा छलफल भएको छैन। मैले कमाएको सामाजिक पुँजी जोगाउँदै जनताको विश्वास कायम राख्नु नै मेरो प्राथमिकता हो,’ उनले भने।


