काठमाडौँ- सत्ताच्यूत भएको तीन महिनापछि संसद्को पहिलो दल नेपाली कांग्रेस सत्तारोहणको तयारीमा छ। पुस १० गते तत्कालीन पाँचदलीय गठबन्धन टुटेपछि कांग्रेसले तीन महिनापछि नै सत्तारोहणको तयारी गर्ने अवस्थामा पुगेको हो।
आफ्नो दलले सत्तारोहण गर्ने निश्चित भएसँगै कांग्रेसका नेताहरूले मन्त्री बन्न ‘लबिइङ’ पनि तीव्र पारेका छन्। सभापति देउवाकहाँ पुगेर मन्त्री बन्ने/बनाउने विषयमा छलफलका शृंखलाले गति लिएको कांग्रेसकै नेताहरूले बताउने गरेका छन्। राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै सरकारमा कसलाई पठाउने भन्ने विषयमा छलफल सुरु भएको कांग्रेस नेता/सांसद रामहरि खतिवडा बताउँछन्।
उपराष्ट्रपतिको पनि निर्वाचन सम्पन्न भइसकेकाले प्रधानमन्त्री प्रचण्डले चैत ६ (सोमबार) विश्वासको मत लिने तयारी गरेका छन्। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेका दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता प्रधानमन्त्रीलाई छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (बायाँ) र कांग्रेस सभापति शेरबहादुर देउवा। (फाइल तस्बिर)
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कम्तीमा मन्त्रालयको भागबण्डा टुंगो लगाइसक्नुपर्ने तर्क कांग्रेसको छ। ‘सोमबार प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कार्यक्रम छ। त्यसअघि नै मन्त्रालयको भागवण्डाबारे मोटामोटी सहमति होस् भन्ने हाम्रो चाहना छ,’ कांग्रेसका एक नेताले भने।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि ती दलले पाएका मन्त्रालय खाली छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार छाडिसकेको छ। रास्वपाले लिएका मन्त्रालय पनि खाली छन्। अहिले मन्त्रिपरिषद्मा २१ मध्ये ५ जना मात्रै मन्त्री छन्। बाँकी १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन्।
छलफलमा कांग्रेस
पुस १० गते बनेको नेकपा एमालेसहितको सातदलीय गठबन्धन फुटाएर कांग्रेस ठीक तीन महिना (चैत १०) भित्र सत्तारोहण गर्ने प्रक्रियामा प्रवेश गरेको हो। शुक्रबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० भित्र सरकारलाई पूर्णता दिने बताएका छन् भने उनले चैत ६ गते (सोमबार) विश्वासको मत लिने तयारी गरेका छन्।
प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिनअघि मात्र आइतबारका लागि कांग्रेसले दुई बैठक राखेको छ। बिहान साढे १० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेसले दिउँसो नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको छ। कार्यसम्पादन समितिमा सरकारमा प्रतिनिधित्व गर्ने व्यक्तिबारे छलफल केन्द्रित हुने सक्ने समितिका एक सदस्यको भनाइ छ।
संसदीय दलको बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गराउने पक्षमा कांग्रेस नेतृत्व छ। प्रधानमन्त्रीले विश्वासको मत लिन लागेकाले त्यसबारे छलफल गर्न बैठक डाकिएको सांसद् रामहरी खतिवडाले जानकारी दिए। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नेछ।
कांग्रेसले अर्थ, परराष्ट्र सहितका ८ मन्त्रालयमा दाबी गरेको छ। यसअघि एमालेले पाएका मन्त्रालय आफ्नो दलले पाउनुपर्ने कांग्रेसको दाबी छ। प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै मन्त्रालय भागवण्डाको विषय सुल्झियोस् भन्ने चाहना कांग्रेसको देखिन्छ।
देउवा निवासमा मन्त्री माग्नेको लर्को, तर छैन छलफल
पार्टी सरकारमा जाँदा सांसद्हरुबीच मन्त्री बन्ने दौड सुरु भएको छ। सभापति देउवाको निवास धुम्बाराहीमा मन्त्री पद माग्न जानेको जमघट बढेको छ।
‘पार्टी सरकारमा जाने भएपछि सभापतिजीसँग भेटघाट गरेर आफ्नो इच्छा जाहेर गर्ने कुरा सामान्य नै हो। मपनि आज (शनिबार) बिहान सभापतिजीलाई भेटर फर्किएको हुँ। मन्त्री बन्ने ईच्छा उहाँलाई सुनाएँ। उहाँले ठिक छ भन्नुभयो,’ नाम उल्लेख नगर्न आग्रह गरेका एक सांसद्ले भने, ‘जनतासँग काम गर्ने प्रतिबद्धता जनाएर निर्वाचित भएका हौँ। त्यसकारण मन्त्री बनेर जनसेवा गर्ने चाहना हरेक राजनीतिज्ञको हुन्छ। मेरो पनि छ। आफ्नो तर्फबाट जोडबल गरिरहने हो। हेरौं के हुन्छ।’

धुम्बाराहीमा नेताहरूको छलफल।
बिहीबार नेता डा शेखर कोइराला समूहको भेलामा समेत सरकारमा पार्टीको सहभागिताका र पावर सेयरिङका विषयमा छलफल भएको थियो। शेखर समूहले पार्टी सरकारमा जाँदा कम्तीमा तीन मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने दाबी गरेको छ। मन्त्रालय बाँटफाँटको विषय टुंगो लागेपछि सभापति देउवासँग छलफल गर्ने र त्यसपछि मात्रै नाम टुंगो लगाउने तयारी शेखर समूहको छ। शेखर समूहले तीन मन्त्रालयमा दाबी गरेपनि २ मन्त्रालय दिने तयारीमा संस्थापन समूह छ।
‘८ वटा मन्त्रालयमा कांग्रेसको दाबी छ। दुई वटा शेखर समूहलाई दिने र ६ राख्ने तयारी सभापतिजीको छ,’ देउवा निकट स्रोतको दाबी छ। मन्त्री बन्न सांसद्हरुले भेटघाटका कार्यक्रमलाई तीव्रता दिएपनि औपचारिक रुपमा कांग्रेसमा अझसम्म यो विषयमा छलफल भएको छैन।
क-कसको छ चर्चा?
सरकारमा कांग्रेस सहभागी हुँदा नेतृत्व कसले गर्ने भन्ने विषय पेचिलो बनेको छ। उपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंहको नाम चर्चामा छ। तर उपसभापति खड्का सरकारमा जान चाहेको स्थितीमा उनैको नेतृत्वमा कांग्रेस सरकारमा जाने सम्भावना धेरै छ।
‘उपसभापति पनि भएको र एमालेसँगको गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण पूर्ण दाइले चाहँदा उहाँकै नेतृत्वमा पार्टी सरकारमा जाने कुरामा शंका छैन,’ देउवा निकट स्रोतले भन्यो। यद्यपि खड्काले यसअघि मन्त्री नबन्ने बताएका थिए। तर खड्काले उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेर सरकारमा जाने सम्भावना बढेको धुम्बाराही स्रोतको भनाइ छ।
शेखर कोइरालाले सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको नेताहरु बताउँछन्। खड्काको मन्त्री नबन्ने अडान कायम रहेको अवस्थामा कोइरालाले नेतृत्व गर्न सक्नेछन्। देउवासँग पछिल्लो समय कोइरालाको सम्बन्ध सुदृढ बनेको छ। त्यसकारण अहिलेसम्म मन्त्री नबनेका कोइरालाको नेतृत्वमा कांग्रेस सरकारमा जाने सम्भावना देखिन्छ। तर, पार्टीको नेतृत्व गरेर सरकारमा जानुपर्ने स्थिति बनेमा कोइरालाले परराष्ट्र वा अर्थमन्त्रीमध्ये एक रोज्नेछन्।

कांग्रेस नेता शेखर कोइराला (दायाँ) र महामन्त्री गगन थापा।
‘शेखर दाइले खुलेर सरकारमा जान्छु त भन्नुभएको छैन। तर नेतृत्व सहित सरकारमा जाने अवस्थामा परराष्ट्र वा अर्थमन्त्री मध्ये एक लिने संकेत उहाँले गर्नुभएको छ,’ शेखर निकट एक नेता भन्छन्। तर देउवापत्नी आरजु राणाले पनि मन्त्री बन्ने इच्छा देखाएकी छन्। राणा मन्त्री बने उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना धेरै छ। त्यसकारण परराष्ट्र मन्त्रालय नपाए अर्थ मन्त्रालय लिनुपर्ने अवस्थाका लागि पनि शेखर तयार रहेको स्रोतको दाबी छ। खड्का र कोइराला दुवै मन्त्री नबने सिंहको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराउने रणनीति देउवा निवासमा बनिरहेको छ।
अर्थमन्त्रीमा महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महतको पनि चर्चा छ। महामन्त्री थापाले यसअघि सार्वजनिक रुपमा मन्त्री नबन्ने बताएका छन्। अर्थतन्त्र संकटग्रस्त बनेको अवस्थामा ‘बोल्ड’ निर्णय लिन सक्ने अर्थमन्त्रीको खोजी भइरहँदा थापा उपयुक्त पात्र भएको तर्क गर्नेहरु पनि छन्।
शेखर सरकारमा नगएको वा जाँदा पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएको अवस्थामा र गगन मन्त्री नबनेको अवस्थामा भने अर्थ मन्त्रीमा नयाँ अनुहार खोज्नुपर्ने बहस पनि भइरहेको छ। कांग्रेसभित्र यो तर्क उठान भएसँगै अर्थमन्त्रीको दौडमा उदय शमशेर राणा पनि थपिएका छन्। यसअघि ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा अर्थराज्यमन्त्री भएर काम गरेको अनुभव राणासँग छ।
‘युवा र निर्णय लिने सक्ने नेतालाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने बहस चलिरहेको छ। यस्तो अवस्थामा गगनजी नै उपयुक्त हो। तर यदि उहाँ बन्नुभएन भने उदय शमशेरजीलाई अघि सारौं भन्ने अनौपचारिक छलफल भइरहेका छन्,’ एक नेताले भने।
शेखर समूहले तीन मन्त्रालय लिने र त्यसमध्ये दुई मन्त्री छान्ने अधिकार शेखरलाई दिने र एक मन्त्री महामन्त्री थापाले छान्ने तयारी अघि बढेको छ। शेखर समूहबाट उपसभापति धनराज गुरुङ मन्त्री बन्ने सम्भावना अधिक छ।
शेखरले मोरङ-१ बाट निर्वाचित सांसद् डिगबहादुर लिम्बूलाई मन्त्री बनाउने तयारी गरेका छन्। यस्तै महामन्त्री थापाले आफू मन्त्री नबनेको अवस्थामा काठमाडौं-५ बाट निर्वाचित सांसद् प्रदीप पौडेललाई अघि सार्ने उनी निकट स्रोत बताउँछ। कांग्रेसको संसदीय दलको निर्वाचनमा जोखिम मोलेर आफूलाई समर्थन गरेका कारण पौडेलको गुन तिर्ने तयारीमा गगन छन्।
देउवाले भने आफ्नो समूहबाट एनपी साउद, सीता गुरुङ, अजय चौरसियालाई मन्त्री बनाउने तयारी गरेका छन्। संसदीय दलको निर्वाचनमा सहयोग गरेका तेजुलाल चौधरीलाई पनि देउवाले मन्त्री बनाउन सक्ने सम्भावना धेरै छ। यीबाहेक मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, रमेश रिजाल, जीवन परियार, विनोद चौधरी, सञ्जय गौतम, सरिता प्रसाईँलगायत पनि मन्त्रीको दौडमा छन्।
तीन महिनामै युटर्न
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँचदलीय गठबन्धन तालमेल गरी चुनावमा गएको थियो। तर तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिले बन्ने भन्ने विषयमा मतभेद हुँदा कांग्रेस सत्ताबाहिर पुगेको थियो।
देउवा र दाहालबीच सहमति बन्न नसकेपछि पुस १० गते उक्त गठबन्धन टुटेको थियो। देउवा र दाहालले प्रधानमन्त्रीको कुर्सीलाई प्रतिष्ठाको विषय बनाएपछि सँगै चुनाव लडेको गठबन्धनको अवसान भयो। एमालेको समर्थन पाएर प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनामै ‘युटर्न’ भए।
फागुन १३ गतेसम्म आइपुग्दा पुस १० गते बनेको सातदलीय गठबन्धनमा चिरा परिसकेको संकेत प्रधानमन्त्रीले नै गरेका थिए। एमालेसँगको सहकार्य तोडेर पुन: कांग्रेससँगै कुम जोड्न आइपुगेका प्रचण्डले एमालेसँग सहकार्यबारे फागुन १३ गते भनेका थिए, ‘दुई महिनामै मैले तितो अनुभव गर्नुपर्यो।’
कांग्रेस, माओवादीसहितको गठबन्धन बनेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ। राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएर कार्यभार सम्हालेका छन्। उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
उपराष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा आठदलीय गठबन्धनमा पनि दुई धार देखिएको छ। गठबन्धनमै आबद्ध रहेको जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई अघि सारेको थियो। उपराष्ट्रपतिको निर्वाचनमा देखिएको दुई धारले सरकारलाई अप्ठ्यारो नपर्ने स्वयं प्रधानमन्त्री प्रचण्डको बुझाइ छ। कांग्रेस नेताहरुको तर्क पनि उस्तै छ।



