काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)को जहाजमार्फत भारत प्रस्थान गरेका हुन्।
१० पुसमा प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल छ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग १८ जेठमा वार्ता गर्ने तालिका तय भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई नेताबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछन्।
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकरलगायत उच्च पदस्थ अधिकारीसँग भेट्नेछन्।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
प्रधानमन्त्री नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।















